कोरोना उपचार र नियन्त्रणका लागि ललितपुर जिल्ला सहकारीले गर्यो सहयोग

,   १२ बैशाख २०७७, शुक्रबार, १०:२१ am   

काठमाडौँ । ललितपुरमा रहेका बचत तथा ऋण सहकारी संस्थाको छाता सङ्गठन ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घले ललितपुरमा रहेका छ वटै स्थानीय तहलाई राहतस्वरुप रकम हस्तान्तरण गरेको छ । विश्वभर कोरोना भाइरसले आक्रान्त पारेर मुलुक बन्दाबन्दी भएको अवस्थामा यहाँ दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अन्धाअपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी सङ्घले केही रकम यहाँका स्थानीय तहलाई सहयोग गरेको हो ।

ललितपुरमा रहेका बचत तथा ऋण सहकारीको तर्फबाट महानगरपालिकालाई रु एक लाख, गोदावरी र महालक्ष्मी नगरपालिकालाई रु ७५–७५ हजार र तीन वटा गाउँपालिकालाई रु ४०र४० हजारका दरले कूल रु तीन लाख ७० हजार सहयोग प्रदान गरेको सङ्घका अध्यक्ष रामहरी बजगाईँँले जानकारी दिए । उनले भने, “विश्व कोरोनाले बलिरहेको अवस्थामा अहिले सहयोग नगरे कहिले गर्ने भन्ने उद्देश्यका साथ अघि बढेका हौँ । साहराविहीन जनताले यस समयमा सहकारीको सहकार्य खोज्छन् ।” ललितपुरमा सबै प्रकृतिका सहकारी सङ्ख्या एक हजार १०० माथि रहेका छन् । यसमा ५१८ बचत तथा ऋण सहकारी संस्था मात्र रहेका बजगाईँले बताए ।

यसैगरी ललितपुरका १० देखि १५ वटा सहकारी मिलेर ३५ देखि चार हजार मास्क, ५० बट्टा स्यानिटाइजर, १०० बढी मानिसको सहभागितामा १०० पिन्ट रगत सङ्कलन र यहाँभित्रका कृषि सहकारी संस्थामार्फत छुट्टै ५०० देखि ६०० बोटबिरुवा गाउँपालिकाका जनतालाई वितरण गरिसकेको बजगाईँले जानकारी दिए । नेपालमा पहिलोपटक विसं २०१३ चैत २० गते चितवन जिल्लाको शारदानगरमा बाढी पीडित जनताको सहयोगका लागि बखान बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएको थियो । यसै सहकारीको माध्यमबाट नेपालमा सहकार्य बढाउनुपर्छ भन्ने भावनाले हाल मुलुकमा कूल ३४ हजार ७३७ सहकारी संस्था रहेका छन् ।

aecc