पीपीई र एन-९५ मास्क बढी मूल्यमा बिक्री गर्ने तीन पसललाई कारवाही

Advertisement

काठमाडौँ । लकडाउनका समयमा बढी मूल्यमा सर्जिकल सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट(पिपिई) र एन–९५ मास्क बिक्रीवितरण गरेको कसूरमा शुक्रबार तीन सर्जिकल पसललाई कारवाही गरिएको छ ।

उपभोक्ताको गुनासोका आधारमा त्रिपुरेश्वर र सुकेधारामा सञ्चालित सर्जिकल पसलमा अनुगमन गर्दा बढी मूल्यमा बिक्रीवितरण भएको र खरीद बिल नभएको पाएपछि कारवाहीस्वरुप जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

उपभोक्ताले त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालिमा पिपिई बढी मूल्यमा बिक्री गरेको गुनासो गरेका आधारमा अनुगमन गर्दा त्यस्तै भेटिएकाले रु दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार रु तीन हजार सात सयमा खरीद गरिएको पिपिई सेटको रु पाँच हजार सात सय (२० प्रतिशतभन्दा बढी नाफा) मा बिक्री गरेको पाइएकाले कारवाही गरिएको हो । त्यस्तै शुक्रबार नै त्रिपुरेश्वरस्थित कान्तिपुर सर्जिकललाई खरीदबिक्री विवरण सार्वजनिक गर्न नसकेकाले अनुचित क्रियाकलाप गरेवापत रु दुई लाख जरिवाना गरिएको छ ।

सुकेधारास्थित कालिका ट्रेडर्स प्रालिलाई बढी मूल्यमा एन–९५ मास्क बिक्रीवितरण गरेका कसूरमा रु तीन लाख जरिवाना गरिएको छ । तीनै सर्जिकल पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement