कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई कठोर मुद्दा दायर गर्ने तयारी

Advertisement

काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथिको अनुसन्धानपछि प्रहरीले विभिन्न चारवटा मुद्दा लगाउने गरी प्रतिवेदन तयार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले अग्रवालमाथिको अनुसन्धान सकेर उनीमाथि लगाइने मुद्दाको विषयमा सरकारी वकिलको कार्यालयलाई प्रतिवदेन बुझाउने तयारी गरेको हो ।

परिसर काठमाडौंले अग्रवालमाथि कालोबजारी, नाफाखोरी, अवैध भण्डारण तथा कृत्रिम अभावको कसुरमा मुद्दा चलाउने गरी सरकारी वकिल कार्यालयलाई सिफारिस गर्ने तयारी गरेको छ । उनीमाथि तीनदेखि चार वर्ष कैदको माग दाबीसहित मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ ।

परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले अग्रवालमाथिको अनुसन्धान सकिएको र सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भइरहेको जानकारी दिए ।

‘अनुसन्धान सकियो, प्रतिवेदन तयार हुँदै छ । सरकारी वकिल कार्यालयमा केही दिनमा नै बुझाउँछौं,’ परिसर काठमाडौंका प्रवक्ता बोगटीले भने ।

नेपालका लागि किर्गिस्तानका अवैतनिक राजदूतसमेत रहेकाले उनीविरुद्ध सार्वजनिक पद दुरुपयोगको कसुरसमेत आकर्षित हुने प्रहरीले जनाएको छ । मुलुकी संहिताअनुसार सार्वजनिक पदको दुरुपयोगमा पनि उनीउपर कारबाही हुन सक्छ । प्रहरीले उनको साथबाट २०९ एचसीसी १ नम्बरको कूटनीतिक नियोगको गाडीसमेत नियन्त्रणमा लिएको थियो । सोही गाडीमा थर्मल गन बोकेर हिँडेको अवस्थामा उनी पक्राउ परेका थिए ।

उनीमाथि कालोबजारीअन्तर्गतको मुद्दामा एक वर्षसम्म कैद, सार्वजनिक पदको दुरुपयोग गरी अपराध गरे हुने डेढी सजाय, अवैध भण्डारण तथा नाफाखोरीमा एक वर्ष, कृत्रिम अभाव सिर्जनामा एक वर्ष कैद हुन सक्नेछ । त्यस्तै, उनीविरुद्ध १५ लाख रुपियाँ बढी बिगो मागदाबीसमेत हुन सक्नेछ ।

२५ चैतमा चार हजार पाँच सय मूल्य पर्ने थर्मल गन १५ हजार रुपियाँमा बिक्री गर्न लाग्दा ६७ थान थर्मल गनसहित महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement