लकडाउनकै बीच पुनः सुरु भयो जोरपाटी-सुन्दरीजल सडकको काम

Advertisement

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी भएपछि रोकिएको जोरपाटी–सुन्दरीजल सडकको काम सुरक्षाका उपाय अपनाई पुनः शुरु गरिएको छ । जोरपाटी–सुन्दरीजल सडकमा ढलको पाइप बिच्छ्याउने र रूख हटाउने काम बन्दाबन्दी जारी रहे पनि शुरु गरिएको हो ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजना प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार जोरपाटी–सुन्दरीजल सात किमी सडकको दुवै भागमा ढलका लागि हिमपाइप बिच्छ्याउने र रूख काट्ने काम शुरु भएको छ, यो मार्गमा ६७ रूख काट्नुपर्नेमा तीन दिनअघि देखि काम शुरु गरी २१ रूख काटिएको छ ।

पाइप बिच्छ्याउन आठ र रूख काट्न छजना कामदार परिचालन गरिएको छ । काम शुरु भएको तीन दिनमा १०० मिटर सडकको दुवैतिर हिम पाइप राखिएको आयोजनाले जनाएको छ । बन्दाबन्दी शुरु हुनुअघि दुई किमी सडकको दुवैतिर हिम पाइप राखिएको थियो ।

आर्थिक वर्ष २०७२/७३ मा ठेक्का भएको सडक गत असार मसान्तमै सकिनुपर्ने योजना थियो । सात किमीको दूरीमा ८०० भन्दा बढी घर पर्ने कारणले म्याद सकिने बेलासम्म कामसमेत शुरु हुन नसकेको आयोजनाका सूचना अधिकारी लक्ष्मण देवकोटाले बताए ।

सडकको केन्द्रविन्दुबाट ११-११ मिटर सडक विस्तार गरी कालोपत्र गर्ने योजना भए पनि गोकर्णेश्वर नगरपालिकाको समन्वयमा केन्द्रविन्दुबाट दुवैतिर सात-सात मिटर विस्तार गर्ने गरी सहमति भएको छ । सार्वजनिक जग्गा भएका स्थानमा भने केन्द्रविन्दुबाट ११-११ मिटर सडक नै बनाइने जनाइएको छ ।

आगामी असार मसान्तसम्म सडकको म्याद थप गरिएकामा हालसम्म २२ प्रतिशतमात्र भौतिक प्रगति भएको सूचना अधिकारी देवकोटाले बताए । असार मसान्तसम्म काम नसकिने भएपछि अर्को एक वर्ष म्याद थपको प्रक्रिया पनि शुरु भइसकेको छ ।

नगरपालिकाको मुख्य सडक भएकाले छिटो सम्पन्न गर्न रुख काट्ने र ढल हाल्ने काम सहजीकरणका लागि सहयोग नगर प्रमुख सन्तोष चालिसे बताउँछन् । रुख काट्ने र ढल हाल्ने काम मात्र सक्दा पनि धेरै काम हुने भएकाले रोगको सङ्क्रमणबाट बच्न सुरक्षाका उपाय अपनाएर काम भइरहेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement