रूसले जुलाई १ सम्म खाद्यान्न निर्यातलाई बन्द गर्ने

Advertisement

मस्को । विश्वको सबैभन्दा बढी गहुँ निर्यात गर्ने मुलुक रूसले अन्नजन्य सामानको निर्यातलाई आगामी जुलाई १ गतेसम्म बन्द गर्ने निर्णय आइतबार सार्वजनिक गरेको छ । रूसबाट निर्यात हुने गहुँ, मकै र जौजस्ता खाद्यान्न वालीको उत्पादनलाई देशबाहिर नपठाउने निर्णय भएको रूसी कृषि मन्त्रालयले जानकारी दिएको छ ।

अप्रिलको शुरूमा रूसी सरकारले जुनको अन्त्यसम्मका लागि यहाँबाट निर्यात हुने खाद्यान्न वालीको हिस्सा छुट््याएको थियो । उक्त निर्णय ‘पूर्णतया कार्यान्वयन’ हुनेछ । निश्चित कोटा अन्तर्गत आपूर्ति हुने गहुँ, जौ, मकै तथा कोदोजस्ता अन्य खाद्यान्न उत्पादनलाई ‘यूरेसियन इकोनोमिक यूनियन’ बाहेकका मुलुकमा सन् २०२० को जुलाई १ सम्मका लागि रोक लगाइएको छ, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यूनियन समूह अन्तर्गत अर्मेनिया, बेलारूस, कजाकिस्तान, किर्र्गीजिस्तान र रूस पर्छन् ।

सामानको आयात तथा निर्यातको अनुगमनकारी अन्तर्राष्ट्रिय संस्था विश्व व्यापार संगठनले खाद्यान्न उत्पादन आपूर्ति वा निर्यातमा रोक लगाउँदा विश्वव्यापी खाद्यान्न आपूर्ति प्रणालीमा प्रभाव पर्ने भन्दै यस प्रकारका रोक नलगाउन चेतावनी दिएको छ । विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वको खाद्यान्न बजारमा कमी हुने सङ्केतलाई देखाउँदै रूसलाई नियमित आपूर्तिका लागि अनुरोध गरिएको संगठनले जनाएको छ ।

मस्कोले भने अन्तर्राष्ट्रिय बजारलाई स्थिर बनाउन वा प्रभावित नपार्ने गरी यस पहिले नै आपूर्तिको यथोचित भाग निर्धारण गरिएको जनाएको छ । मस्कोले आइतबारको विज्ञप्तिमा कोरोनाभाइरसको सन्दर्भलाई भने उल्लेख गरेको छैन । कृषि वर्ष २०१८–२०१९ मा रूसले विश्व बजारमा तीन करोड ५० लाख टन गहुँ निर्यात गरेको थियो । मस्कोले उक्त एक वर्षको समयमा चार करोड ३० लाख तीन हजार टन खाद्यान्न उत्पादन निर्यात गरेको समाचार संस्था नोवोस्तीले जनाएको छ । रासस/एएफपी

Advertisement

Advertisement

Advertisement