‘केहि घण्टाका लागि सेयर बजार खोल्न सकिन्न, अब चाँडै पूर्ण स्वचालित बनाउँछौं’

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले लकडाउन अवधीमा सेयर बजार खोल्न नसकिने पुनः स्पष्ट पारेका छन् । आंशिक रुपमा सेयर बजार खुला गर्नुपर्ने दबाव बढिरहेका बेला उनले लकडाउन नखुल्दासम्म बजार खुला नगर्ने बताएका हुन् । सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेपछि नेप्सेले पनि २५ गतेसम्मका लागि सेयर बजार बन्द गर्ने निर्णय गरिसकेको छ ।

सेयर बजार खोल्ने विकल्पबारे सोच्नु भएको छैन् ? यसरी बन्द गरिराख्नुको विकल्प केहि हुन सक्दैन् ? भन्ने कर्पाेरेट नेपालको प्रश्नमा अध्यक्ष ढुंगानाले भने–‘फुल लकडाउनका बेलामा त सेयर बजार बन्द गर्नुको अर्काे विकल्प के नै हुन सक्छ र ?’

उनले आंशिक रुपमा केहि घण्टाका लागि बजार खोल्नुपर्ने दबाव आईरहेको भएपनि अहिले कै अवस्थामा त्यो सम्भव नभएको पनि बताए ।‘केहि घण्टा बजार खोल्नुपर्छ भन्ने बहस पनि चलिरहेको छ, तर हाम्रो सेयर कारोबारमा लगानीकर्ताहरु भौतिक रुपमा ब्रोकरको कार्यालय जानै पर्ने अवस्था छ’, अध्यक्ष ढुंगानाले भने ।

उनले सबै मानिस लाइन लागेर ब्रोकरको कार्यालय जाने अवस्था नरहेको र लकडाउन थप कडा पार्ने निर्देशन सरकारले दिएकाले सेयर बजार बन्द गर्नुको विकल्प नदेखेको पनि स्पष्ट पारे ।  अनलाइनलाई पूर्ण स्वचालित नबनाई लकडाउनको अवधीमा सेयर कारोबार खुला हुने सम्भावना नरहेको बताए ।

अध्यक्ष ढुंगानाले निकट भविष्यमै अनलाइन सेयर कारोबारलाई पूर्ण स्वचालित बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । ‘हामीले नेप्सेलाई अनलाइन कारोबार पूर्ण स्वचालित बनाउने तयारी गर्न भनेका छौं, त्यो सम्भव भएको दिन यस्ता महामारीमा पनि घरबाटै सेयर कारोबार गर्न सकिनेछ’, ढुंगानाले भने । लकडाउनका कारण चैत ९ गतेपछि सेयर बजार बन्द छ ।

Advertisement

Advertisement

Advertisement