व्यवसायीले उर्जामन्त्रीलाई भेटेर भने- व्यवसायिक लागत कम गर्न विद्युत महसुलमा राहत दिइयोस्

Advertisement

काठमाडौं । निजी क्षेत्रका तीन वटा प्रमुख संस्थासम्वद्ध व्यवसायीहरुले उर्जामन्त्री बर्षमान पुनले बुधबार भेटेर विद्युत महशुलमा राहत प्रदान गर्न आग्रह गरेका छन् ।

संकटका बेला व्यवसायिक लागत कम गर्न विद्युत महसुलमा राहत माग्दै निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले बढ्दो संकटलाई थेग्ने गरी व्यवसायिक लागत कम गर्न विद्युतको महसुलमा राहतका लागि आग्रह गरे ।

निजी क्षेत्रका तिनवटै प्रमुख संस्थाले संयुक्तरुपमा तयार गरेको कोरोना भाइरसको महामारी तथा लकडाउनबाट उद्योग व्यवसाय तथा व्यापार क्षेत्रमा परेको समस्या समाधान सम्बन्धी सुझाव प्रतिवेदन समेत ऊर्जामन्त्री पुनलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिवेदनमा विद्युतका महशुल कम्पनी तथा फर्मको लागतको एक महत्वपूर्ण हिस्सा रहन गएको सन्दर्भमा व्यवसायिक लागत कम गर्न विद्युतको महसुलमा राहतका लागि आग्रह गरिएको छ । विद्युतका क्षेत्रमा चार महिनाको लागि डिमाण्ड चार्ज मिनाहाको व्यवस्था गरिनु पर्ने, बिजुलीको महशुल तिर्ने समय सीमा चार महिनाको लागि पछाडि सार्नु पर्ने र बिजुलीको महशुलमा १५ महिनासम्म २० प्रतिशत छुटको व्यवस्था गर्न समेत आग्रह गरिएको छ ।

मन्त्री पुनले लकडाउन लम्बिने समय यकिन नभएकाले विद्युत महशुलमा दिन सकिने राहतका विषयमा लचिलो हुन विद्युत प्राधिकरणलाई बोर्डले अधिकार दिइसकेको जानकारी गराए । अन्य मागका विषयमा थप छलफल गर्ने र निर्माण क्षेत्रका ठूला आयोजनाको काम सकेसम्म छिटो सूचारु गराउन प्रयास भइरहेको पनि उनले बताए ।

यसअघि निजीक्षेत्रका तीनवटै संस्थाहरुले तत्काल आर्थिक पुनर्उत्थान प्याकेज घोषणा गर्न आग्रह गर्दै मुख्यसचिव र सरकारका अन्य निकायमा संयुक्त सुझाव प्रतिवेदन पेश गरेका थिए। विषम आर्थिक संकटको सामना गर्न मौद्रिक, श्रम तथा रोजगार, विद्युत र नीतिगत सुधारसँग सम्बन्धित सुझावहरु प्रतिवेदनमा समेटिएको छ । सो छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, महासंघका अध्यक्ष भवानी राणा र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतका व्यवसायी सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement