विदेशमा अलपत्र पाँच लाख मजदुरको स्वदेश फर्किने चाहना, तत्काल फर्काउन सकिन्न- सरकार

Advertisement

काठमाडौं । रोजगारीका लागि विभिन्न मुलुकमा रहेका करिब पाँच लाख नेपाली मजदुरले स्वदेश फर्कन चाहेका छन् । कोरोना संक्रमणका कारण सम्बन्धित देशमा लकडाउन भएपछि धेरै कामदार रोजगारी गुमाएर अलपत्र छन् ।

विदेशमा अलपत्र परेका मजदुरबारे सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र गैरआवासीय नेपाली संघ (एनआरएनए)का छुट्टाछुट्टै तथ्यांक छन् । संघले विभिन्न मुलुकमा रोजगारी गुमाएका पाँच लाख कामदार स्वदेश फर्कने अवस्थामा रहेको जनाएको छ । एनआरएनले विदेशमा चार लाख नेपाली अलपत्र रहेकाले उनीहरूलाई तत्काल फर्काउन सुझाब दिएको छ । सरकारकै प्रारम्भिक अध्ययनमा पनि सवा दुई लाख कामदार तत्काल फर्काइहाल्नुपर्ने अवस्थामा रहेको देखिएका छन् ।

सर्वोच्च अदालतले पनि केही दिनअघि जोखिममा परेका कामदार फर्काउन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो । तर, अधिकांश मुलुकमा लकडाउन गरिएका कारण उनीहरूलाई तत्काल फर्काउन सकिने अवस्था नरहेको सरकारले जनाएको छ । ‘लकडाउन खुकुलो भएपछि कामदार फिर्ता गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको छ । इच्छुक सबै कामदारलाई फर्काउँदा व्यवस्थापनमा कठिनाइ हुन्छ । त्यसैले अलपत्र परेका कामदारलाई प्राथमिकता राखी फर्काउने विषयमा गृहकार्य हुँदै छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भने ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार कतिपय रोजगारदाताले कामदारलाई टिकट दिएर नै बिदा गरेका छन् । कतिपय कम्पनीले लामो बिदा दिएर कामदारलाई स्वदेश फर्कन दबाब दिएका छन् । अनौपचारिक रूपमा रहेका झन्डै दुई लाखसहित करिब पाँच लाख कामदार स्वदेश फर्किने अवस्थामा रहेको संघका महासचिव सुजितकुमार श्रेष्ठले बताए ।

दशवटा विदेशी कम्पनीले त नेपाली कामदारलाई बिदा गरिसकेको पत्र नै संघलाई पठाएका छन् । कामदारको सम्झौता सकिएकाले तत्कालका लागि बिदा गरिएको उनीहरूले बताएका छन् । संघका अनुसार दुबईको फ्लेक्स फ्यासलिटी व्यवस्थापन कम्पनीले दुई सय र जिफोरएस कम्पनीले ६९ कामदारलाई बिदा दिइसकेको छ । त्यस्तै, साउदी अरबकोे अलसा रिक्रुट कम्पनीले दुई सय ६५, केएफसीले पाँच, बाई पावर सपोर्ट कुटु रेस्टुरेन्टले १४, एमडम ह्युमन रिसोर्स कम्पनीले २६, मकाउको ग्लोबल सेक्युरिटीले २० तथा मलेसियाको यु हंग सोफा कम्पनीले ४४, सेरेमबन इन्जी बरहाडले सात र एलबिस होटेलले ४० नेपाली कामदारलाई बिदा दिएका छन् ।

त्यस्तै, एनआरएनएले विदेशमा गर्भवती महिला, कागजी प्रक्रिया नपुगेका, भिजिट भिसामा गएर रोकिएका र आममाफी पाएकालाई पहिलो प्राथमिकतामा राखेर नेपाल ल्याउन सरकारलाई सुझाब दिएको छ । संघका उपाध्यक्ष डा। बद्री केसीका अनुसार कामदारबाहेक आफ्न्त भेटन गएका पर्यटकसमेत फर्किन पाएका छैनन् । आफन्त भेट्न गएका ६ सय नेपाली अस्ट्रेलियामा र सात सय अमेरिकामा अलपत्र परेका छन् । युएईमा परिवारसहित बसेका ६० जना गर्भवती महिला एनआरएनएको सम्पर्कमा आएको केसीले बताए । त्यस्तै, हालै कुवेतमा सात हजार कामदारले आममाफी पाएका छन् । धेरै मुलुकमा रोजगारी गुमाएकासमेत गरेर करिब चार लाखलाई तत्काल स्वदेश फर्काउनुपर्ने अवस्था रहेको उपाध्यक्ष केसीले बताए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement