परिसंघले अर्थमन्त्रीलाई दियो सुझाव, 'कृषिमा लगानी बढाउन १० वर्ष आयकर छुट दिनुहोस्'

Advertisement

काठमाडौँ । नेपाल उद्योग परिसंघले अर्थमन्त्री युवराज खतिवडालाई आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटले समेट्नु पर्ने सुझावहरु प्रस्तुत गरेको छ । परिसंघले अर्थमन्त्री खतिवडालाई रोजगारी सृजना, निजी क्षेत्रको विकास र कृषि सहित लघु, साना तथा मझौला उद्योगको विकासमा बजेटका उद्देश्य सहितको प्रतिवेदन बुझाएको हो ।

अर्थमन्त्रालयमा परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको पदाधिकारी सहितको प्रतिनिधिमण्डले बजेटका नीतिगत तथा विषयगत सुझावहरु प्रस्तुत गरेको हो । सुझावमा विस्तारकारी वित्तीय नीति सहितको बजेट ल्याउन र पूँजीगत खर्चलाई बढाई समयमा खर्च गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

बजेट मार्फत रोजगारी सृजनाका लागि व्यवसायिक कृषिमा लगानी आकर्षित गर्न १० वर्षका लागि आयकर छुट दिन तथा लघु, साना तथा मझौला उद्योगको विकासमा लागि लगानी जुटाउन ग्यारेण्टी कोष खडा गर्न आग्रह गरिएको छ ।

उद्योगहरुका लागि आवश्यक लगानीका लागि ऋणको लागतलाई आगामी ३ वर्षका लागि कम्तिमा ५ प्रतिशतले कम गर्न अर्थमन्त्रीसँग आग्रह गरिएको छ । अर्थव्यवस्थामा तरलता थप गर्न भ्याट तथा अन्य कर फिर्ता लगायत सरकारले भुक्तान गर्नु पर्ने सम्पूर्ण रकम तत्काल भुक्तान गर्ने व्यवस्था मिलाई बजारमा तरलता कम हुन नदिन आवश्यक मौद्रिक उपायहरु तर्फ बजेट केन्द्रित हुनु पर्ने माग परिसंघको छ । बजेटले समग्र क्षेत्रका सुझावमा वर्तमान विषम परिस्थितिमा सरकारी राजस्व कम हुने जोखिम भए पनि बजारको समग्र मागलाई बढाउन व्यक्तिगत आयकरको सीमालाई बढाउन गर्न आग्रह गरिएको छ । यसले समग्र मागमा बृद्धि भई सरकारको राजस्व पुन बृद्धि हुने छ ।

चालु आर्थिक वर्षमा घाटामा रहेका उद्योगहरुलाई बढीमा ५ प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्न आग्रह गरिएको छ । यसका लागि छुट्टै एक खरबको पुनर्कर्जा कोष निमार्ण गर्न समेत परिसंघले आग्रह गरेको छ । औद्योगिक प्रवद्र्धनका नीतिहरु कम्तिमा पाँचका लागि स्थायी हुनु पर्ने सुझाव परिसंघको छ । बजेट मार्फत हरेक निर्यातमा मुल्य अभिवृद्धिका आधारमा नगद अनुदान दिने व्यवस्था गर्न आग्रह गरिएको छ । यसैगरी नेपाली वस्तु निर्यात गर्न सहज हुने गरी निकासी गृह को व्यवस्था गर्ने समेत आग्रह गरिएको छ । यसैगरी नेपाली उद्योगहरुलाई प्रतिस्पर्धी बनाउदै अर्थतन्त्रलाई विस्तार गर्न स्वदेशी उद्योगलाई विदेशमा लगानी गर्न पाउने व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

परिसंघले बजेटले रोजगारी श्रृजना, स्वदेशी उत्पादन तथा निर्यात प्रवद्र्धन, व्यवसायिक कृषि र लघु साना तथा मझौला उद्योगको प्रवद्र्धन, लगानी योग्य रकममा पहुँच बढाउने उपयुक्त नीति ल्याउने बजेट आउनु पर्ने सुझाव दिइएको छ । बजार माग बढाउने, राजस्व नीतिमा करको दर नबढाई दायरा विस्तारमा ध्यान दिन समेत परिसंघले आग्रह गरेको छ ।

आर्थिक गतिविधिका हिसावले देश अत्यन्त नाजुक अवस्थामा रहेको समयमा परिसंघले उठाएका कुराहरु सान्दर्भिक रहेको जनाउदै आगामी बजेट लगानी बृद्धि गर्दौ स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने किसिमको आउने आश्वासन अर्थमन्त्रीले दिएका थिए । नेपालको उत्पादन निर्यात गर्न के कस्ता कुराहरु समेटिनु पर्ने हो त्यो सरकारले हेरिरहेको छ । नेपालका उद्योगीहरु निश्चिन्त भएर लगानी बृद्धि गर्नुस सरकार यहाँहरुसंगै छ, उनले भने ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा निजी क्षेत्रसंगको छलफलमा परिसंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष उपाध्यक्षत्रय अनुज अग्रवाल, निर्वाण चौधरी, राजेश अग्रवाल लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Advertisement

Advertisement

Advertisement