संकटमा व्यवसायिक संस्थाहरुलाई जोगाउने उपयुक्त विधि हुनसक्छ 'काम घरबाट'

Advertisement

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)ले आर्थिक सामाजिक क्षेत्रमा प्रभाव पार्दै विश्वमा आर्थिक मन्दीको सिर्जना गरेको छ । यसको परिपूर्ति गरी पूर्ववत अवस्थामा फर्किन लामै समय लाग्ने देखिन्छ । नेपाल पनि यस महामारीको असरबाट अछुतो छैन । गएको चैत्र ११ गतेदेखि शुरु भएको बन्दाबन्दी (लकठाउन)को समय आउँदो जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय सरकारले गरिसकेको छ । अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द राख्ने तथा आन्तरिक एवं बाह्य हवाई उडानहरु आगामी जेठ १८ गतेसम्म बढाइएको छ । लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा सवारीसाधन प्रयोग गरेर सजिलै पुग्न नसकी सयौं कोलोमिटरको दुरी पैदलै हिडेर पुग्नु परेको दृश्य पनि देखिसकिएको छ । व्यवसायिक प्रतिष्ठानमा काम गर्ने श्रमिकहरु आआफ्ना कारखाना तथा कार्यालयको काममा जान पाएका छैनन् । केही मात्रै उद्योग व्यवसाय सञ्चालनमा रहे पनि धेरै अझै चालु हुन सकेका छैनन् । उत्पादनमूलक उद्योग।कम्पनीका प्लान्ट तथा ल्याब्रोटरी एवं बोयलर तथा युटिलिटी सेक्सनबाट हुने कामहरु झन् सम्भव नै भएन । व्यवसायिक संस्थामा काम गर्ने श्रमिकहरुको दैनिकी फेरिएको छ । कतिपयले कार्यालयमा रही गर्नुपर्ने कामहरु घरबाटै गर्दै आइरहेका छन् । तर, जुनरुपमा काम हुनुपर्ने हो, त्यति हुन सम्भव नहुनु स्वाभाविक नै छ । यस परिस्थितिबाट उद्योगी व्यवसायी हतास छन् । आतिएका छन् । आधुनिक इतिहासमा सबैभन्दा लामो लकडाउनको अवस्था यो नै संभवतः पहिलो हो । जे भए पनि उद्योग व्यवसाय जस्तोसुकै विषम परिस्थितिमा पनि लगाताररुपमा सञ्चालित भइरहनसक्नु पर्दछ । अन्यथा निजी क्षेत्रका उद्योग व्यवसाय बाँच्न सक्दैनन् । अग्रगतिमा जान सक्दैनन् । त्यसमा पनि हाम्रा उद्योग व्यवसाय साना तथा मझौलास्तरका छन् । विषय प्रवेश गर्दा विगत २० वर्षदेखि आंशिक वा पूर्णरुपबाट घरबाट काम गर्ने अवधारणा बेलायत, अमेरिका जस्ता देशहरुमा बढ्दै गइरहेको दखिन्छ । घरबाट काम (वर्क फ्रम होम) गर्नेको संख्या सन् १९९९ को तुलनामा अर्थात् गत २० बर्षको अवधिमा बेलायतमा ८० प्रतिशतले वृद्धि भएको देखिएको छ । गएको १२ महिनामा २९.६५ ले घरबाट काम गरे भने अमेरिकामा २०१२ को तुलनामा २०१६ मा नै ४३ प्रतिशतले वृद्धि भएको देखिएको छ । यसको कारण प्रविधि, काम गर्ने तौरतरिका र काम गर्ने श्रमशक्तिमा आएको परिवर्तन पनि हो । काममा लचकता हुनुपर्छ भन्ने सोचमा यसको सुरुवात भएको पाइन्छ जहाँ ९ बजेदेखि ५ बजेसम्मको कार्यालय समयको पाबन्दी राखेर काम गर्नु गराउनुपर्ने सीमितता रहँदैन । यसले क्षमतावानलाई आकर्षित गर्दछ र विविधतामा वृद्धि हुन्छ भन्ने विश्वास गरिएको छ ।

Advertisement

प्रथमतः छोटो अवधिको समयमा हुने अर्थात् वर्तमानमा रहेजस्तो लकडाउनको अनिश्चित अवस्थामा विभिन्न तहका थुप्रै श्रमिकहरुले आआफ्ना दैनिकी घरबाट गरिआएका छन् । जहाँ इन्टरनेटको पहुँच छ, त्यस स्थानबाट कार्यालयमा गरिने किसिमका आफ्ना दैनिकी गर्न समस्या रहँदैन् । सर्वप्रथम आफ्नो उद्योग व्यवसायको प्रकृतिको आधारमा कस्तो किसिमको कामहरुलाई घरबाट गराउने ? सोको निश्चितता गर्नु उपयुक्त हुन्छ । त्यसपछि आंशिक वा पूर्ण कुन रुपमा छोटो वा दिर्घकालका कस्ता कामहरु गराउने ? सो यकिन गरिनुपर्छ ।
सुरुका दिनहरुमा हप्तामा एक पटक वा महिनामा दुई पटक गर्दै घरबाट काम गराउने अभ्यासलाई अघि बढाई कामको सुनिश्चितता गर्दै जान सकिन्छ । नेपालमा कोविड १९ को महामारीको अवस्थाको कारणले सिर्जित समस्यालाई समाधान गर्ने अभिप्रायले घरबाट काम गर्ने अभ्यासलाई अबलम्बन गर्न सकिन्छ । रोग संक्रमणको जोखिमको समयमा पनि व्यवसायलाई योजनावद्ध ढंगले सञ्चालन गर्ने अभ्यास गर्नुपर्ने समय आएको छ । व्यवसायलाई जस्तोसुकै लकडाउनको अवस्थामा पनि नियमित सञ्चालन गर्ने पद्दती, जसलाई हामी व्यवसायिक लक्ष्यको निरन्तरता भन्छौं, त्यसको अबलम्बन गरिनुपर्छ । अमेरिकामा एयरटास्कर भन्ने संस्थाले गरेको सर्भेमा कार्यालयभन्दा टाढाबाट काम गर्ने श्रमिकहरु बढी उत्पादनमुखी र प्रभावकारी रहेको भन्ने देखाएको छ । घरबाट काम गराउने परिपाटीलाई नयाँ थालनीको रुपमा अर्थात् व्यवस्थापनको स्वीकार्यता तथा विश्वासको रुपमा लिने गरेको पाइन्छ ।
अन्य देशमा भएका अध्ययनले मध्यम तथा बढी उमेरका मानिसहरु घरबाट काम गर्न रुचाउने गरेको पाइन्छ । त्यस्तै, उच्च दक्षता भएका तथा उच्च तहमा रहेका प्रवन्धक, निर्देशक, परामर्शदाता, जो एकभन्दा बढी कम्पनीहरुको काम गर्न सक्षम् छन्, उनीहरुले घरबाट गर्ने कामलाई प्रश्रय दिएको पाइन्छ । यस्तै गर्भवती र परिवारको स्याहारसुसारमा संलग्न हुनुपर्ने महिलाहरुले घरबाट काम गर्ने अवसरलाई बढी महत्व दिने गरेको देखिन्छ । घरबाट काम गर्ने पद्दती सञ्चालन गर्ने कि नगर्ने ? भन्ने कुरा उद्योगको प्रकृति र उनीहरुको क्षमतामा पनि भर पर्ने कुरा हो ।कार्यालयबाहेक अन्यत्र टाढाको स्थानमा रहेर वा आआफ्ना घरबाट काम गर्ने अभ्यास बिसौं वर्ष अघिदेखि बेलायत, अमेरिका, यूरोपेली मुलुकसहित छिमेकी राष्ट्र भारत पनि अभ्यासमा रहेको छ । यसको अभ्यास दुई किसिमका छन् । पहिलोः छोटो अवधिका बन्दाबन्दीको अवस्थामा अर्थात् विगत बर्षहरुमा हुने एक दुई दिनका नेपाल बन्द जस्ता अवस्थामा वा लचकताको कारणले वा व्यवस्थापनको सहमतिमा महिनामा एक दुई दिन घरबाट काम गर्न छुट दिने जस्ता कार्यहरु छोटो अवधिमा पर्छन । हाल कोरोना भाइरसको कारण अचानक आइलागेको र लम्बिँदै गएको लकडाउनको अवस्थामा घरबाट कार्यालयको काम गर्नु परेको अवस्था भनेको व्यवस्थापन तथा व्यवसायिकताको निरन्तरता गराउन श्रमिकहरुलाई उनीहरुको घर वा बासस्थानबाट काम गराउन खोजिएको एक अभ्यासको रुपमा नै लिनुपर्ने हुन्छ । यसलाई अनपेक्षित कारण सिर्जना भएको घरबाट काम गर्ने अवस्थाको रुपमा बुझ्नुपर्ने हुन्छ । यस अवधिमा घरबाट काम गराउनु पनि त्यतिकै जरुरी हुन आएको छ । यति लामो अबधिसम्म देश लकडाउनमा जानसक्छ र उद्योग, पेसा, व्यवसायका काम यति लामो समयसम्म बन्द हुन पुग्छन, देशमा यतिका दिनसम्म आवत जावत बन्द हुनपुग्ला, व्यवसायिक तथा आर्थिक कारोबारहरू यति लामो समयसम्म बन्द रहन सक्लान भन्ने सायदै कसैले सोचेका थिए होलान । नत इतिहासमा यति लामो किसिमको देशव्यापी बन्दाबन्दीको अवस्था कहिलै सिर्जना भएको थियो । तर, हामीहरु वर्तमानमा अकल्पनीय लकडाउनको अवस्था कोरोना भाइरसको कारणबाट व्यहोरिरहेका छौं ।त्यसैले छोटो वा लामो अवधिका बन्दाबन्दीको परिस्थिति आइपरेर उद्योग व्यवसायको काम कार्यालयबाट गर्न सकिएन् भने पनि घरबाट गर्ने अर्थात् कार्यालयभन्दा बाहिर टाढाबाट काम गर्न गराउन व्यवस्थापन सदैव चनाखो भइरहनु पर्छ । यस्तो अवस्थामा योजनाबद्ध ढंगले आफ्ना श्रमिकहरुलाई परिचालन गर्नुपर्ने हुन्छ । श्रमिकहरुले गर्नुपर्ने कामको लक्ष्य तोक्नुपर्ने, त्यसको फलोअप गर्नुपर्ने, काम गरे नगरेको तथा गरेका काम गुणस्तरयुक्त भएनभएको निरीक्षण र मूल्यांकन नियमितरुपमा गर्नुपर्ने हुन्छ । यसको लागि सम्बन्धित प्रबन्धक, त्यसमा संलग्न मानव संशाधन विज्ञहरुले आफ्नो भूमिका चुस्त दुरुस्तरुपमा निर्वाह गर्नुपर्ने हुन्छ ।अहिलेको लकडाउनको अवस्थामा धेरै कम्पनी, उद्योग व्यवसायले आफ्नो काम श्रमिकहरुको घर घरबाट सञ्चालन अर्थात् कार्यालयभन्दा टाढाबाट सम्पन्न गरिरहेका छन् । तर पनि श्रमिकबाट लिनुपर्ने सेवा प्रभावकारी ढंगबाट योजनाबद्धरुपमा अपवादमा बाहेक लिन नसकिरहेको सुन्नमा आएको छ । यसो हुनुमा घरबाट काम गर्ने सोच तथा अभ्यासको विकास भइनसकेको अवस्था हो । यसलाई उनीहरुको वार्षिक लक्ष्यको आधारमा मूल्यांकन गर्ने व्यवस्था गरेर सञ्चालन गराउनुपर्ने हुन्छ ताकी राम्रो काम गर्ने श्रमिकहरुले सोही किसिमको प्रसंशा र पुरष्कार पनि पाउन सकुन । श्रमिकहरुलाई व्यवस्थितरुपबाट काम गराउने कुरा तब मात्र सम्भव हुन्छ जब उद्योग व्यवसायका श्रमिक आफूलाई तोकिएको लक्ष्य निश्चित सुचकको आधारमा योजनावद्ध किसिमले कार्यालयभन्दा टाढा रहेर वा आआफ्ना घरबाट पनि त्यतिकै दक्षतापूर्वक सहज ढंगले गर्न गराउन सक्षम् रहन्छन । उनीहरुलाई प्रभावकारी बनाउनु आजको आवश्यकता पनि हो । यो काम सम्वन्धित् संस्थाका सञ्चालक एवं नेतृत्वदायी व्यक्ति तथा मानव संशाधन क्षेत्रमा संलग्न संस्थाका विज्ञहरुको सक्रियता र दुरदृष्टीमा पनि भर पर्छ ।घरबाट स्थायीरुपमा निरन्तर काम गराउने कार्यलाई दोस्रो पद्दतीमा राखी छलफल गर्नु पनि वान्छनीय हुन्छ । कुनै पनि उद्योग, पेसा, व्यवसायका कामहरु, जो कारखाना वा कम्पनीको कार्यालयले सञ्चालन गर्नुपर्ने हुन्छ, तर ती कामहरु दैनिकरुपमा उद्योग व्यवसाय परिसर भित्रबाट नै गर्न आवश्यक रहदैन, त्यस्ता कामहरु सम्बन्धित श्रमिक एवं विशेषज्ञहरुको घरबाट अर्थात् आफ्नो कार्यालयभन्दा अन्यत्रबाट नियमितरुपमा सञ्चालन गर्न गराउन सकिन्छ । घरबाट काम गर्न सकिने केही यस्ता कामहरु पर्छन्, जसलाई सदैव सम्बन्धित पेसा व्यवसायस्थलभन्दा टाढा वा अन्यत्रबाट नियमितरुपमा गर्न सकिन्छ । यसले जे जस्तो अवस्थामा पनि उद्योग, पेसा व्यवसाय तथा कार्यालयको कामको निरन्तरता दिन मद्दत गर्दछ । कार्यालयभन्दा बाहिर राखेर टाढाबाट काम गराउँदा व्यवसायको स्थापना एवं सञ्चालनमा हुने अनुत्पादक खर्चहरु न्यून गर्न मद्दत पुग्छन् । पेसा व्यवसाय निरन्तररुपमा दक्षतापूर्वक सञ्चालन हुनसक्छन् । व्यवसाय फष्टाउन सकेन भने देशको आय र रोजगारीमा असर पुग्छ । श्रमिकहरु बेरोजगार हुन पुग्छन् । देशको राजश्वमा ह्रास हुनपुग्छ । उपभोक्ताले वस्तु तथा सेवा प्राप्त गर्न सक्दैनन् । यस्ता कामहरु उद्योग व्यवसायका आआफ्ना उत्पादन तथा सेवाको प्रकृतिमा भर पर्छन् । तर, साधारणतया सूचना तथा सञ्चारसँग सम्बन्धित् क्षेत्रमा गरिनुपर्ने थुप्रै कामहरु, कल सेन्टरसम्बन्धि काम, सेवाग्राहीका अभिलेखहरु कम्प्युटरमा अभिलेख गर्ने काम, बिक्री बितरण तथा बजारीकरणसम्बन्धि काम, प्रतिष्ठानका कर्मचारीको तलव भुक्तानी प्रक्रिया एवं कर्मचारीहरुको अभिलेखीकरण, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक वितीय विवरण प्रस्तुत गर्ने काम, कम्पनीको शेयरधनीहरुको अभिलेख राख्ने, सञ्चालक समितिका बैठक एवं साधारण सभालगायतका विभिन्न कार्य सञ्चालन गरिदिने, कम्पनीका परियोजना अध्ययन प्रतिवेदन, आर्थिक तथा वित्तीय मूल्यांकन, अनुवाद, आन्तरिक लेखा परीक्षण, वैयक्तिक सहायकले गर्ने काम तथा कार्यालयका कर्मचारीहरुको कार्यालयगत भ्रमण सम्बन्धि काम, अस्पतालका बिरामीको अभिलेख राख्ने, अनलाइन तालिम गराउने तथा पढाउने, विभिन्न किसिमका तथ्यांक अभिलेखीकरण जस्ता कामहरु दक्षता अनुसारका योग्य श्रमिकलाई वा विषय विशेषज्ञलाई जिम्मेदारी दिई उनीहरुका घरबाट वा कार्यालयभन्दा टाढाबाट गराउन सकिन्छ । यसका लागि उद्योग व्यवसायहरुले आफ्नै परिसरमा कार्यालय संचालन गर्नु जरुरी रहदैन । आफ्नो उद्योग पेसा व्यवसायको प्रकृतिअनुसार अरु पनि थुप्रै किसिमका काम घरमा रहेर वा कार्यालयबाट टाढा रहेर गर्न गराउन सकिन्छ । ती काम गराउने कार्यको फेहरिस्त निकाली मानव संशाधन विज्ञहरुले, व्यवसायका नेतृत्वदायी वर्गले कर्मचारीहरुका लागि तोकिदिएको संस्थाको उद्देश्य परिपूर्तिको वार्षिक लक्ष्य मूल्यांकन गर्ने मापदण्ड एवं कार्यसम्पादनको सूचक निश्चित गरेर श्रमिकहरु वा विशेषज्ञलाई घरबाट वा कार्यालयभन्दा बाहिरबाट काम गराउने पद्दतीको विकास गर्नुपर्ने हुन्छ । यसो गर्न सकेको खण्डमा व्यवसायको निरन्तरतामा कुनै अवरोध आउन सक्दैन भने यस्तै कोभिड १९ जस्ता महामारी एवं प्राकृतिक प्रकोप तथा विपत्तिको समयमा पनि उद्योग व्यवसायका धेरै काम निर्वाधरुपमा सञ्चालन गर्न सकिन्छ । व्यवसायको कार्यसम्पादन निरन्तर चलिरहन सक्छ । यसर्थ, उद्योग व्यवसायले गर्नु गराउनुपर्ने हरेक किसिमका कामहरु उद्योग वा कार्यालय परिसरबाट मात्रै गर्नु गराउनुपर्ने परम्परागत प्रचलनको निरन्तरता गरिरहनु जरुरी पर्दैन भने त्यसका लागि लाग्ने खर्चबाट पनि संस्था जोगिन सक्छ । यही भएर होला वर्क फ्रम होम अर्थात् रिमोट वर्किंको अभ्यासहरु वर्षौं अघिदेखि विकसित देशमा व्यवहारमा चलिआएका छन् । बदलिँदो समयलाई ध्यानमा राखेर होला नेपालको सर्वोच्च अदालतले समेत अहिलेको कोरोना संक्रमणको जोखिमबाट जोगिन सामाजिक दुरी कायम गराई अदालतका कामकारबाही अघि बढाउने सिलसिलामा अनलाइन बहस प्रस्तुत गर्ने तथा वहस नोट इमेलबाट पठाउनसक्ने सुविधा दिएका समाचार आएका छन् ।सूचना तथा सञ्चार क्षेत्रमा धेरैले घरबाट वा अन्यत्र रहेर काम गर्ने गर्छन् । विगत दुई दशकमा इन्टरनेटको पहुँच निकै विस्तार भएको र नयाँ नयाँ प्रविधिको विकासले गर्दा बढी मात्रामा घरबाट काम गर्ने पद्दतीलाई प्रेरित गरेको छ । घरबाट काम गर्नका लागि केही मुलभूत कुराहरु गर्नुपर्ने हुन्छ । जसअनुसार घरबाट काम गर्न सकिने स्थानको व्यवस्था आफ्नो घरमा गरिनुपर्ने हुन्छ । उसको लागि ल्यापटप र इन्टरनेटको जडान रहेको हुनुपर्ने हुन्छ । घरमा काम गर्दा परिवार, पाल्तु जनावर, तथा अन्यबाट कुनै किसिमको अवरोध पुग्नु हुँदैन । सम्बन्धित् श्रमिकको लक्ष्य र भूमिका स्पष्ट हुनुपर्छ । उसले हरदिन आफ्नो कामको सन्दर्भमा आफ्नो सुपरभाइजरलाई सम्पर्क गर्नुपर्ने र कार्यतालिकाको बारेमा जानकारी गराउनुपर्ने हुन्छ । कुन काम कुन समयमा कसरी गर्ने ? कति घण्टा काम गर्ने हो ? सो सबै अग्रिम योजना बनाएर गर्नुपर्ने हुन्छ । घरबाट काम गर्ने श्रमिकले दिनमा एक पटक कार्यालयमा रहने आफ्नो टिमसँग कुरा गर्ने, सम्पर्क रहने आफ्नो कामको प्रगतिको जानकारी दिने, सबैलाई आआफ्नो अनुभव तथा समस्याहरु व्यक्त गर्ने मौका दिने, आफ्नो जिम्मेवारीलाई प्रभावकारी एवं दक्षतापुर्वक पूरा गर्नका लागि कामको प्राथमिकता र गम्भीरतालाई बुझ्नुपर्ने हुन्छ । त्यस्तो श्रमिक त्यतिकै जवाफदेही हुनुपर्छ जति कार्यालयमा रहँदा हुनुपर्छ । कार्यालयबाट माग भएका विवरण एवं तथ्यांक समयमै प्रस्तुत गर्नुपर्ने हुन्छ भने काम गर्ने तौरतरिका स्पष्टरुपमा दिइएको हुनुपर्छ । आफूले गर्ने गरेको कामलाई दैनिक, हप्ता तथा मासिकरुपबाट रिपोर्ट गर्नुपर्ने हुन्छ । घरबाट काम गर्ने श्रमिकहरुले घरबाट कार्यालय जाने र कार्यालयबाट घर फर्किंदाको ट्राफिक जाम तथा सो यात्राको समयको सदुपयोग गर्नसक्ने, कार्यालय जाने आउने समयको भरपुर बचत हुने, कार्यालय ढिलो पुग्ने चिन्ता र परेसानीबाट जोगिने, आफ्ना घर परिवारको साथमा रहेर रोजगारिता चलाउन सकिने, जसले आफ्नो जीवनलाई सन्तुलित रुपबाट चलाउन मद्दत पुग्ने, कार्यालय जाने समयमा जस्तो औपचारिक पोसाक खासै आवश्यकता नपर्ने, काम गर्ने तालिकामा लचकता रहने, कुनै पनि समय काम रोक्न सकिने, छुट्टि लिन सकिने, आफ्नो खुसीमा काम सञ्चालन गर्न सकिने, घरकै स्वस्थकर खाना तथा खाजा खाएर काम गर्न सकिने, आफू तथा आफ्नो परिवारका कुनै सदस्य सानोतिनो बिरामी हुँदा बिरामी बिदा लिनुपर्ने जस्तो अवस्था नहुने हुन्छ । साथै, घरबाटै काम गर्नाले कार्यालय जाँदा आउँदाको जस्तो प्रदुषण र ट्राफिक जाम घटाउन पनि मद्दत पुग्ने हुन्छ । यी सबै लाभबाट कम्पनीप्रति श्रमिकको निष्ठा बढ्ने र व्यवसायको उत्पादकत्व बढ्न जाने हुन्छ । श्रमिक कम्पनीबाट खुशी भएपछि कम्पनीको उत्पादकत्वमा वृद्धि हुने, कार्यालयभन्दा बाहिरबाट काम गराउँदा संगठनको खर्च कम हुने, कामहरु घरबाट सुविधाजनक किसिमले गराउन सकिन्छ । यति हुँदाहुँदै पनि घरबाट काम गराउँदा उनीहरुको प्रत्यक्ष निगरानी राख्न गाह्रो हुने, समूहगतरुपमा हुने कामहरु छरिएका एकल श्रमिकबाट गर्नगराउन असजिलो हुने, एक अर्काप्रतिको सम्बन्ध त्यति नरहने, एक अर्काबाट सिक्न सकिने कुराहरुबाट बन्चित हुने र काम गर्दा घरका विभिन्न माध्यमबाट ध्यान मोडिने जस्ता अप्ठ्यारा रहन्छन् । यी कुरालाई सुधार गरेर घरबाट काम गर्ने पद्दतीको विकास गर्नुपर्ने आवश्यकता भइसकेको देखिन्छ ।घरबाट काम गर्ने पद्दतीको विकास हुँदै जाँदा वर्तमानमा रहेका श्रम ऐन लगायतका केही कानुनी व्यवस्थामा संशोधन आवश्यक पर्नसक्छ । घरबाट काम गर्ने पद्दतीको विकास हुनसकेमा कोभिड १९ जस्ता प्रकोपबाट अग्रिम अवकाशमा जान चाहनेहरु रोक्किन सक्छन । यसबाट व्यवसायमा तत्काल पर्ने आर्थिक भार कम हुन सक्छ । श्रमिकहरुलाई कामको जिम्मेवारी दिई उनीहरुको घरबाट काम गराउन सकिन्छ । यसर्थ, कार्यसम्पादनका मुख्य सूचकहरु निश्चित गरेर नियमित सुपरिवेक्षण गरी उच्च कार्यसम्पादन गर्ने पद्दतीबाट घरबाट काम गर्ने कार्यको विकास गरिनु उपयुक्त हुन्छ । यसबाट कम्पनी तथा व्यवसायले महँगो भाडामा घर वा कार्यालय लिई, श्रमिक वा विशेषज्ञ स्थायीरुपमा राखी व्यवसाय चलाउनूपर्ने बाध्यता रहँदैन भने मुलभूतरुपमा कम श्रमिक राखेर व्यवसायको काम दक्षतापुर्वक चलाउन सकिन्छ । यसमा स्पष्ट हुनुपर्ने विषय भनेको घरबाट काम गर्ने कर्मचारीहरुको काम गर्ने अधिकार नभई रोजगारदाता र रोजगारीकर्ताको आपसी सेवा शर्त तथा समझदारीमा निर्भर रहने हुनुपर्छ । यसको लागि मानव संशाधनको व्यस्थापनमा संलग्न तथा विज्ञहरुले आफ्नो कम्पनीको व्यवसायको प्रकृतिको आधारमा घरबाट वा कार्यालयभन्दा टाढाबाट काम गर्ने गराउने धारणा, नीति तथा कानुनी व्यवस्थाको परिमार्जन गर्दै यसको अभ्यास अगाडी बढाउन सक्नुपर्छ । यसबाट नै व्यवसायिक संस्थालाई फाइदा पुग्नसक्छ । जस्तोसुकै परिस्थितिमा पनि उद्योग पेसा व्यवसायको निरन्तरतामा मद्दत पुग्नसक्छ ।

(लेखक अधिवक्ता तथा एचआर/आईआर प्रोफेशनल हुन्)

Advertisement

Advertisement