लकडाउन केही खुकुलो भएपछि उपत्यकामा सडक निर्माण र मर्मत पुनः सञ्चालन हुने

Advertisement

काठमाडौँ । सुरु भएको केही दिनमै निर्माण सामग्रीको अभावमा ठप्प सडक निर्माण र मर्मत पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ । सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णयसँगै निर्माण पुनः शुरु हुने आशा गरिएको हो ।

दुई साता पहिले काठमाडौँका विभिन्न स्थानमा निर्माण र मर्मत शुरु भए पनि केही दिनसम्म मात्रै काम भएको थियो । निर्माण सामग्री लिन गएका टिपरले स्थानीयस्तरमा विवाद भएपछि सामग्री ल्याउन नसकेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले जानकारी दिए । कुनै कुनै क्रसर मात्रै खुल्दा विवाद भए पनि सबैै उद्योग खुलेपछि निर्माण सामग्री ल्याउन सकिने वातावरण बनेको उनले बताए । उनले भने, “निर्माण सामग्रीको अभावमा काम रोकिने अवस्था अब नआउन सक्छ ।”

‘लकडाउन’ को शुरुका दिनदेखि नै डिभिजनले सडकमा रङ्गाउने काम गरेको थियो । प्रशासनले निर्माणमा आवश्यक समन्वय गर्ने भनेपछि मर्मत (ओभर ले) र निर्माण दुवै काम भइरहेको प्रमुख नेपालीले बताए । डिभिजनले पुतलीसडक, त्रिपुरेश्वरलगायत स्थानमा ह्विमपाइप राख्ने काम गरिरहेको छ । त्यस्तै लकडाउनपछि ओभर ले भएका जय नेपाल–कमलादीलगायतका स्थानमा रङरोगनको काम भइरहेको छ । उनले भने, “तीन चार किमी सडकमा अहिले रङरोगन भइरहेको छ ।”

सरकारले उपत्यका बाहिरबाट आउने सवारी साधन रोकेपछि भने अहिले कतिपय निर्माण सामग्री बोकेका सवारीसमेत रोकिएका छन् । धादिङ, नुवाकोटलगायत जिल्लामा निर्माण सामग्री लिएर काठमाडौँ आउँदै गरेका टिपर रोकिएका छन् । सरकारले गरेका कतिपय निर्णयका बारेमा फिल्डमा खटिने प्रहरी कर्मचारीलाई जानकारी नहुँदा समस्या आउने गरेको प्रमुख नेपालीले बताए । सामान्य अवस्थामा दिउँसो टिपर चल्न नदिने प्रशासनको निर्णयका कारण रातमा मात्रै चल्ने गरेको थियो । अहिले पनि कतिपयमा टिपर रातमा मात्रै चल्ने हो भन्ने भ्रम पाइन्छ । उनले भने, “सवारी पास लिन सजिलो छैन र पास भएका सवारीलाई पनि ल्याउन दिइएको छैन ।”

डिभिजनले सामान्य अवस्थाभन्दा कामको गति कम गरेरै निर्माण अघि बढाएको हो । कामदारलगायत आवश्यक दक्ष जनशक्ति पनि काठमाडौँमा पर्याप्त नभएको उहाँले बताउनुभयो । काम नै कम गर्ने भएकाले अहिले उपत्यकामा भएकै कामदारलाई काम गराउन सकिने भए पनि थोरै सङ्ख्यामा दक्ष प्राविधिक जिल्लामा भएकाले काममा बाधा पुगेको छ । एक दुईजनाको सङ्ख्यामा ती कामदारलाई आवश्यक परीक्षण गरेर उपत्यका भित्रन दिँदा काम अघि बढ्न सक्छ । अहिले दक्ष प्राविधिक भित्र्याउन कठिन भएको उहाँले बताउनुभयो । उनले भने, “जिल्लाबाट ल्याइएका व्यक्ति पनि उपत्यका छिर्ने नाकामा नै रोकिएका छन् ।”

डिभिजनले जिल्लाका मुख्य र सहायक सडक गरी आवमा ३७ किमी सडक ओभर ले गरिसकेको छ । अहिले ओभर ले गर्न बाँकी सडक झण्डै चार किमी छ । चालु आवमै झण्डै १० किमी सडक निर्माण र पाँच पुल निर्माण गर्न बाँकी छ । ओभर लेको काम यो अवधिमा सकिए पनि सडक निर्माण र पुल निर्माण सम्पन्न नहुने उनले बताए । सडक निर्माणका लागि आवश्यक सबै पूर्वाधार बने पनि कालोपत्र बाँकी छ । त्यस्तै, अहिले नियमितरुपमा वर्षा भइरहेकाले पाँच पुलमध्ये कुनै पनि शुरु गरिएको छैन । उनले भने, “पुल निर्माण नसकिने हुँदा तत्काल शुरु गर्ने अवस्था छैन ।”

सामाखुसीबाट नुवाकोट जाने टोखा सडक निर्माण भइरहेको छ । सो सडक ठेक्का चालु आवमै सकिए पनि काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । उनले भने, “एकतर्फीरुपमा कालोपत्र गरेर पनि सडक नियमित सञ्चालन हुने बनाइनेछ ।”

‘लकडाउन’ का समयमा भएको सडक चिह्न लगाउने कामका कारण उपत्यकाका मुख्य सडक चिटिक्क देखिएका छन् । एकातर्फ सवारी साधनको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिह्नले उपत्यकाको मुहार नै फेरिएको छ । रासस

Advertisement

Advertisement

Advertisement