कोरोनाले रोजगारी गुमाएका युवालाई विनाधितो ४ लाखसम्म सहुलियतपूर्ण कर्जा

Advertisement

रुपन्देही । कोरोना महामारीका कारण रोजगारीका अवसर नभएपछि तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा रु चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो ।

पहिलो चरणमा रु दुई करोड कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवासँग उद्यम प्रस्ताव आह्वान गरेको छ । इच्छुकले आगामी जेठ ५ गतेसम्म आफूले गर्न चाहेको उद्यमसम्बन्धी प्रस्ताव नगरपालिकामा पेश गर्नुपर्नेछ । प्राप्त प्रस्तावानुसार नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा युवालाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

नगरपालिकाले गत कािित्तकमा सम्पन्न गरेको लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गरेको थियो । सोही सम्झौतानुसार नगरपालिकाले बैंकको रिजर्भ कोषमा कर्जा प्रवाहका लागि रकम जम्मा गरिसकेको छ । मूलतः बेरोजगार युवालाई लक्ष्य गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरु सो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको व्याजदर पुरुषका हकमा वार्षिक ४।५० र महिलाको हकमा वार्षिक ३.५० प्रतिशत छ ।

कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडि परेका समुदाय र वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइने उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।

कर्जा प्रवाहका लागि तरकारी, फलफूल, फूल, च्याउ, जडिबुटी खेती, पशुपक्षीपालन, मत्स्यपालन, नगदेबाली, घरेलु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिइएको छ । भुक्तानीको अवधि बढीमा पाँच वर्ष रहेको सहुलियतपूर्ण कर्जालाई युवाको प्रस्तावानुसार विस्तार गर्न सकिने जनाइएको छ । रासस

Advertisement

Advertisement

Advertisement