अर्थतन्त्रमा कोरोनाले पारेको प्रभाव न्युनीकरण पहिलो प्राथमिकता होः गभर्नर अधिकारी

Advertisement

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले कोरोना(कोभिड-१९) ले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणको निम्ति नेपाल राष्ट्र बैंक केन्द्रित रहेको बताएका छन् ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम तर्जुमाको निम्ति सुझाव संकलन गर्ने उद्देश्यका साथ आज काठमाडौंमा आयोजना गरेको वेबीनार मार्फत पूर्व बजेटकालीन अन्तरक्रिया कार्यक्रम सम्पन्नमा गभर्नर अधिकारीले यस्तो बताएका छन् । उनले वेबिनारमा सहभागीहरूबाट प्राप्त सुझावहरू समेतको आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को उपदफा (४) बमोजिम नेपाल सरकार समक्ष पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने जानकारी दिए ।

विगतका वर्षहरूमा नेपाल राष्ट्र बैंकले प्रत्यक्ष रूपमा पूर्व बजेटकालीन अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएकोमा हाल विश्वव्यापी रूपमा देखापरेको कोभिड–१९ को विषम परिस्थितिका कारण मुलुक बन्दाबन्दी अवस्थामा रहेको र सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था समेत रहेकोले बैंकले चालू वर्ष वेबीनार मार्फत उक्त कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा बैंक तथा वित्तीय संस्था, पूँजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरू एवम् अर्थविज्ञसँग बैंकले पूर्वबजेटकालीन प्रतिवेदनका सुझावहरू संकलन गरेको हो । सो अवसरमा बैंकका प्रवक्ता एवम् अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले अतरक्रियाको उद्देश्यमाथि प्रकाश पार्दै उक्त वेबीनार कार्यक्रमको सहजीकरण गरेका थिए ।

उक्त वेबीनार कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्स, नेपाल पोल्ट्री व्यवसायी महासंघ, नेपाल निर्यात परिषद्, नेपाल बैंकर्स एसोसियन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल इन्भेष्टमेन्ट फोरम, नेपाल सुनचाँदी व्यवसायी संघलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरुले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोभिड–१९ को विषम परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७/७८ बजेटले समेट्नु पर्ने आवश्यक नीतिगत सुझावहरू प्रस्तुत गरेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठका साथै बैंकका विभिन्न विभागका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement