भूकम्पको बेला सम्झौता, महामारीको बेला सडक मार्ग उद्घाटन, नेपालको सरकार हेरेको हेर्यै

Advertisement

काठमाडौं । भारतले नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र समावेश गरेको ६ महिनापछि नेपाली भूभाग व्यास र गुन्जी हुँदै लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेको छ । पाँच वर्षअघि भूकम्पले नेपाल अस्तव्यस्त भएको वेला भारत र चीनले नेपालसँग सल्लाह नै नगरी लिपुलेक पासबाट व्यापारिक मार्ग बनाउने सहमति गरेकोमा अहिले कोरोना महामारीबीच भारतले सडकमार्ग उद्घाटनसमेत गरेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले दार्चुलापारि भारतीय जिल्ला धार्चुला सदरमुकाम पिथौरागढबाट लिपुलेक नाका जोड्ने ८० किलोमिटर सडक शुक्रबार उद्घाटन गरेका छन् । सिंहले भिडियो कन्फ्रेन्समार्फत दिल्लीबाट सडक उद्घाटन गरेपछि पिथौरागढबाट गाडीहरू उकालो लागेका थिए । ती गाडी व्यास, गुन्जी हुँदै लिपुलेकतर्फ गएका छन् । व्यास, गुन्जी र लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण नेपालसँग छ, तर भारतले कब्जा गरेर ५८ बर्षदेखि कालापानीमा फौज (इन्डो–टिबेटियन बोर्डर पुलिस–आइटिबिपी) नै राखेको छ ।

‘कैलाश मानसरोवर यात्रा रुटका रूपमा राजमार्ग उद्घाटन गर्न पाउँदा म खुसी छु,’ भारतका रक्षामन्त्री सिंहले ट्विटरमा भनेका छन् । सुरक्षाकर्मीलाई चीनको सीमासम्म पहुँच कायम भएको र गाउँमा पनि बाटो पुगेको भारतीय रक्षामन्त्रीको तर्क छ । सकड निर्माण १७ अप्रिलमै सम्पन्न भए पनि उद्घाटन शुक्रबार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार उद्घाटन भए पनि भारतले सो क्षेत्रमा सडक निर्माण सन् २००८ बाटै सुरु गरेको थियो । तर, सन् २०१५ (२०७२)मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गर्दा लिपुलेकबाट दुई देशबीच व्यापार गर्ने सम्झौता भएको थियो । लिपुलेक मात्र होइन, त्योभन्दा पश्चिम लिम्पियाधुरासम्म नेपाली भूमि हो, त्यसमा नेपालको दाबी छ भन्ने जान्दाजान्दै पनि दुई छिमेकीले नेपालको सार्वभौम संवेदनशीलताको वास्तै नगरी सम्झौता गरेका थिए ।

चीनसँगको समझदारीलगत्तै भारतले गुन्जीमा ‘ट्रेड अफिस’ स्थापना गरेको छ । सो कार्यालयको सुरक्षार्थ इन्डो–तिब्बतीयन बोर्डर पुलिसको मिठी चौकी परिचालन भएको छ । जुन १ देखि अक्टोबर ३१ सम्म लिपुलेक हुँदै भारत र चीनबीच बर्सेनि व्यापार भइरहेको छ । चीनसँगको सम्झौतापछि भारतले सडक निर्माणलाई दु्रत बनाएको थियो ।

त्यसो त भारत र चीनबीच भने लिपुलेकबारे यसअघि पनि सहमति भएको थियो । कैलाश मानसरोवर यात्राका लागि लिपुलेक पासबाट आवतजावत गर्न दिने विषयमा सन् १९५४ अप्रिल २९ मा भारत र चीनबीच सहमति भएको थियो ।

धार्चुलाबाट व्यासी पुग्न पाँच दिन लाग्ने गरेकोमा सडकमार्ग बनिसकेपछि चार घन्टामा पुग्न सकिने छ । भारतले हीरक नाम दिएर सडक आयोजना सम्पन्न गरेको हो । आयोजनाका प्रमुख इन्जिनियर विमल गोश्वामीले हिन्दुस्तान टाइम्सलाई भनेका छन्, ‘अब दिल्लीबाट लिपुलेक पास दुई दिनमा पुग्न सकिन्छ । दिल्लीबाट लिपुलेक पासको दूरी ७५० किलोमिटर छ । सिक्किमको नाथुला र नेपालको हुम्ला हुँदै कैलाश जाने रुटभन्दा लिपुलेक छोटो र आर्थिक रूपमा तीर्थयात्रीहरूलाई सस्तो पर्छ ।’

भारत र चीनबीच व्यापार हुने भनिए पनि अहिलेको अवस्थामा चिनियाँ सामान भारत नै पुर्‍याउने हो, त्यसैले लिपुलेक नेपाली भूमि हो भन्ने जान्दाजान्दै पनि व्यापारिक स्वार्थका कारण चीनले भारतलाई समर्थन गरेको छ । उता भारतले व्यापार मात्र होइन, कैलाश मानसरोवर जाने यात्रुलाई पनि सडकबाटै लिपुलेकसम्म पुर्‍याउने उद्देश्यले यो सडक निर्माण गरेको हो । लिपुलेक पासबाट कैलाश मानसरोवरको दूरी ९७ किलोमिटर छ । दिल्लीबाट रक्षामन्त्री सिंहले सडकमार्ग उद्घाटन गर्दै अब कैलाश मानसरोवर जान भारतीय तीर्थयात्रुलाई थप सहज भएको बताएका छन् ।

भारत सरकारको बोर्डर रोड अर्गनाइजेसन (बिआरओ)ले सडक निर्माण गरेको हो । सडकका लागि सन् २०१८ मा केन्द्र सरकारले चार अर्ब ३९ करोड ४० लाख रुपियाँ विनियोजन गरेको थियो । इन्डो–चाइना बोर्डर रोड परियोजनालाई भारतको ‘क्याबिनेट कमिटी अन सेक्युरिटी’ले बजेट दिएको हो ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement