कार्यालय जाने र अत्यावश्यक सेवाका सवारी साधन तोकिएको समयभित्र गएर फर्किसक्नुपर्ने

Advertisement

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाभित्र सरकारी कर्मचारी, बैंक तथा बित्तीय संस्था, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री बोकेका सवारी साधनलाई आइतबारबाट तोकिएको समयमा मात्रै चल्न पाउने गरी टाइम कार्ड लागू गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम गर्न डेढ महिनाअघिदेखि लागू गरिएको लकडाउनका कारण जनजीवन जटिल बन्दै गएपछि यसलाई केही खुकुलो गरेको सरकारले काठमाडौं उपत्यकाभित्र यस्ता कर्मचारी र सवारी साधनलाई सशर्त सञ्चालनको अनुमति दिन लागेको हो । टाइम कार्डअनुसार चल्ने कुरा भने त्यति व्यवहारिक हुने नदेखिए पनि शनिबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य, ट्राफिकलगायत निकायका अधिकारी सम्मिलित बैठकले टाइम कार्डअनुसार समयसीमा तोकेर कर्मचारी, बैंक तथा बित्तीय संस्था र अत्यावश्यक सेवामा प्रयोग भएका सवारी साधनलाई तोकिएको समयभित्र सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सवारी साधनको सञ्चालन र मानिसहरुको आवजजावतलाई व्यवस्थित गरी धेरै भीडभाड हुन नदिन यस्तो निर्णय गरिएको जानकारी दिए । निर्माण सामग्री बोकेका ट्रक र टिपर भने यसअघि जस्तै बेलुका ८ बजे प्रवेश गरेर बिहान ६ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने छ भने सरकारी कर्मचारी बिहान ९ बजेदेखि १०ः३० सम्म कार्यालय पुगि बेलुका ५ देखि ६ बजेभित्र घर फर्किसक्नुपर्ने छ ।

त्यस्तै, बैंक तथा बित्तीय संस्थाका कर्मचारी आफ्नो सवारीमा बिहान ९ देखि १०ः३० भित्र निस्केर बेलुका ३ः३० देखि ५ बजेभित्र फर्किसक्नुपर्नेछ भने दैनिक उपभोग्य बस्तु तथा इन्धन बोक्ने साधन बिहान ४ देखि १० बजेभित्र मात्रै सञ्चालन हुनुपर्नेछ । औषधि र पानी बोकेका सवारी साधनलाई भने यस्तो नियम लागू हुने छैन् ।

साथै, ढकालले पास भएका सवारी पनि प्रयोजनबिना गुड्न नपाउने बताउँदै उपत्यका प्रवेश गर्न खोज्ने सवारी साधनलाई पनि कडाई गरिने बताए ।

Advertisement

Advertisement

Advertisement