बल्ल प्रहरीले 'साँसद अपहरण' प्रकरणको अनुसन्धान थाल्यो, सर्वेन्द्रका चालकसँग बयान

Advertisement

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंले ‘सांसद अपहरण प्रकरण’मा नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका चालकसँग बयान लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिबार बिहान पूर्वआईजीपी खनालका चालक प्रहरी हवल्दार शिव तामाङसँग बयान लिएको हो । बयानमा चालक तामाङले त्यस दिन सा‌ंसद सुरेन्द्र यादव राजीखुसीले आएको दाबी गरेका छन् ।

पूर्वआईजीपी खनालसहित नेकपा सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र नविन बस्नेतविरुद्ध समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवका तर्फबाट बिहीबार काठमाडौं प्रहरी परिसरमा ‘अपहरण’को मुद्दा दर्ता भएको थियो ।

त्यसैगरी परिसरले अपहरण आरोपित नेकपा सांसद बस्नेत र पीडित ‘अपहरणमा परेको भनिएका’ समाजवादीका सांसद यादवका अंगरक्षक समेत रहेका प्रहरी जवानद्वय डिल्लीराम भट्टराई र चुणमणि भट्टराईलाई बयानका लागि उपस्थित गराइदिन पनि प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो । तर दुवै अंगरक्षक भक्तपुर र महोत्तरी जिल्ला प्रहरी कार्यालयबाट खटिएकाले उतैबाट झिकाउन परिसरलाई प्रधान कार्यालयले निर्देशन दिएको छ ।

यसैगरी काठमाडौं परिसरले महोत्तरीस्थित गौतम होटल र नक्सालस्थित मेरियट होटलको वैशाख १० गते रातीको सीसीटीभी फुटेज उपलव्ध गराउन निर्देशन दिएको छ । बिहीबार नै परिसरले निरीक्षकको नेतृत्वमा अनुसन्धान टोली महोत्तरी पठाएको छ ।

वैशाख १० गते पूर्व आइजीपी खनाल तथा नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठले समाजवादी पार्टी विभाजन गर्ने मनसायले सो पार्टीका सांसद यादवलाई महोत्तरीस्थित घरबाटै जबर्जस्ती गाडीमा हालेर काठमाडौं ल्याएको आरोपमा काठमाडौं परिसरमा अपहरण तथा शरीर बन्धक कसुमा मुद्दा दर्ता भएको हो ।

यादवको घरबाट हिँडेपछि बर्दिबासस्थित गौतम होटलमा खाना खाएर काठमाडौं आएका उनीहरु राती नै नक्सालसिथत मेरिएट होटल आइपुगेका थिए । सोही घटनामा वैशाख १४ गते नै अपहरित भनिएका यादव परिसर पुगेर मुद्दा दर्ता गर्न खोजेका थिए । तर प्रहरीले दर्ता गर्न नमानेपछि यादव सोही कसुरको मुद्दा लिएर वैशाख २२ गते काठमाडौं सरकारी वकिलको कार्यालय गएका थिए । त्यही मुद्दा सरकारी वकिलको कार्यालयबाट बिहीबार परिसरमा पठाइएको थियो ।

यसैगरी अपहरण प्रकरणमा परिसरले यादवको अन्तर्वार्ता लिने विभिन्न सञ्चारमाध्यमसँग पनि अन्तर्वार्ताको फुटेज सामग्री उपलब्ध गराइदिन पत्र पठाएको जनाएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement