गौतमबुद्ध विमानस्थलको निर्माण अघि बढ्दै, नदीजन्य निर्माण सामग्रीको अब छैन समस्या

Advertisement

भैरहवा । नदीजन्य निर्माण सामग्रीको अभावका कारण प्रभावित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण अगाडि बढेको छ । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको विमानस्थल आयोजना शाखाले जनाएको छ ।

उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माण अगाडि बढेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले पुनःसञ्चालन गर्ने निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसंँगको सहकार्यमा निर्माण कम्पनीले काम निरन्तरता दिएको हो ।

बन्दाबन्दीका कारण केही समय सुस्ताएको विमानस्थलको निर्माण नदीजन्य पदार्थ बालुवा र गिट्टीको सहजतासँगै ११ किमी पेरिमिटरको सडक निर्माण, टर्मिनल भवन र एप्रोनबीचको भाग ढलान भइरहेको विमानस्थल आयोजना प्रमुख अधिकारीले बताए ।

धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको विमानस्थल निर्माण कम्पनीले सन् २०२० मार्च ३१ सम्म सम्पन्न गर्ने अन्तिम म्याद रहेको जनाएको छ ।

नेपाली र चिनियाँ कामदारले आन्तरिक आइसोलेशनमा बसेर निर्माण अगाडि बढाए पनि चीनबाट ल्याउनुपर्ने प्राविधिक उपकरण उतै रोकिएकाले निर्माण केही समय पछाडि धकलिने निर्माण कम्पनीले जनाएको छ । चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा रु ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो । सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता म्याद थियो ।

निर्माण कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै यसअघि चार पटक म्याद थपिसकेको छ । एशियाली विकास बैंक ऋण सहयोगमा निर्माण भइरहेको सो विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलभन्दा ठूलो हुने छ जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement