लकडाउनमा यसरी गर्नुस् घरमै बसेर शेयर कारोबार-चन्द्रसिंह साउद

Advertisement

हामी यस अघि नै शेयर बजार खुला गर्न सबै रुपले तयार थियौं । परिस्थितिले बजार बन्द गर्नु पर्यो ।  मंगलबारदेखि शेयर कारोबार दैनिक २ घण्टा खुल्नेछ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार हामीले २ घण्टा बजार खोल्ने निर्णय गरेका हौं । अब सिँगो बजारको सर्किट ब्रेकलाई ६ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारिएको छ । त्यस्तै, कम्पनीको सर्किट ब्रेकलाई १० प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिएको छ । लगानीकर्तालाई पास चाहिएमा ब्रोकर कम्पनीको सिफारिसमा धितोपत्र बोर्डले उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

मंगलबारबाट हुने सेयर कारोबारका लागि अनलाइनको युजर नेम र पासवर्ड लिएका लगानीकर्ताहरुले घरमै बसेर सेयर किनबेच गर्न सक्छन् । लगानीकर्ताले शेयर किन्ने हो भने ब्रोकर कहाँ २५ प्रतिशत मार्जिन राख्नुपर्छ । त्यसका लागि कनेक्ट आइपीएस मार्फत पैसा पठाए हुन्छ । शेयर बिक्रेता हो भने पनि उनले अनलाइन मार्फत नै बिक्रि अर्डर हाल्नुपर्छ ।

अनलाइनको युजर नेम र पासवर्ड लिन चाहनेहरुले ब्रोकर कहाँ फोन गरेर आवश्यक कागजात ईमेल मार्फत पठाउन सक्छन् । युजर नेम र पासवर्ड उपलब्ध गराएपछि सेयर खरिद बिक्रि गर्न सकिन्छ । अनलाइन कारोबार नलिएका र अहिले लिन नचाहानेहरुले ब्रोकर कम्पनीमा फोन गरेर खरिद वा बिक्रिको अर्डर दिन सक्छन् ।

बिक्रि गर्ने लगानीकर्ताको डिम्याटमा सेयर छ वा छैन भनेर ब्रोकरले जाँच गर्छ । एउटै बिओआडीबाट धेरै वटा ब्रोकरसँग काम गर्ने लगानीकर्ताहरुले अब त्यसो गर्न पाउँदैनन् । कुनै एउटा ब्रोकर छानेर कारोबार गर्नुपर्छ । डिम्याटको खाता पनि दुई वटा भन्दा बढी चलाउन दिईएको छैन्, यतिबेला भने दुईमध्ये पनि एउटा एकाउन्टबाट मात्रै कारोबार गर्न पाइन्छ । विदेशमा पनि एउटा मात्रै डिम्याट हुन्छ ।

सेयर कारोबारको सेटलमेन्ट हुने भनेको टि प्लस थ्रीमा हो । लगानीकर्ताले टी प्लस टुमा मेरो सेयर मार्फत इडिआइएस गर्नुपर्छ र कनेक्ट आइपीएस मार्फत ब्रोकरको पुल एकाउन्टमा फण्ड ट्रान्सफर गर्नुपर्छ । अनि टि प्लस थ्रीमा ब्रोकरले सेटलमेन्ट गरिदिन्छ । बेच्नेको बैंक खातामा ब्रोकरले पैसा पठाईदिन्छ भने किन्नेको डिम्याट खातामा सेयर आइपुग्छ ।

कनेक्ट आइपीएसमा एउटा कारोबारका लागि १० लाखको सिमा तोकिएको छ । बिशेष परिस्थिति परेकाले पैसाको अभाव भएका लगानीकर्तालाई हेरेर सेयर बजार खोलेका हौं । २५ प्रतिशत मार्जिन गर्नुपर्ने सुबिधा दिएकोले १० लाख रुपैयाँले ४० लाख रुपैयाँको सेयर किनबेच गर्न पाइन्छ ।  त्यो भन्दा बढी किनबेच गर्नु पर्यो भने दुई वटा कारोबार गर्न पनि सकिन्छ । कनेक्ट आइपीएसमा १० लाखको सिमा हो । आइपीएसमा त्यस्तो सिमा छैन् । आइपीएसमा २० करोडसम्म पेमेन्ट गर्न पाइन्छ ।

हामीलाई नेपालमा गाली गरिरहेका छन् तर संसारभरीको नियम नै यहि नै हो । बैंक इन्टिग्रेसन हुने भनेको त तेश्रो पक्ष सहभागी भएर मात्रै हो । नेप्सेको त्यसमा कुनै भूमिका हुन्न । मुम्बई स्टक एक्सचेञ्जको प्रक्रिया हेर्दा पनि धेरै कुरा थाहा हुन्छ । नेपाल क्लियरिङ हाउस जस्ता चार पाँच वटा कम्पनी त्यहाँ छन् । ब्रोकरहरु आफैंले त्यस्ता कम्पनीहरु खोलेर काम गरिरहेका छन् । बैंक इन्टिग्रेसनको काम स्टकले गर्ने होइन तेश्रो पक्ष मार्फत गराउने हो ।

हामीले त यहाँ सबै काम आफैं गरिदिएका छौं । हामीले लगानीकर्तालाई बैंकमा गएर कनेक्ट आइपीएस लिनुस्, मर्चेन्ट बैंकरसँग मेरो सेयर लिनुस् अनि ब्रोकर कहाँ गएर अनलाइन कारोबारको युजर नेम र पासवर्ड लिनुस् । हामीले उपलब्ध गराउने सबै सेवा उपलब्ध गराएका छौं । अब उपभोग गर्ने लगानीकर्ताहरुले उपभोग गर्नुपर्छ । कसैलाई कुनै समस्या छ भने हामीलाई भन्नु पर्यो ।

बैंकको समस्या हामीलाई भनेर समाधान हुन्न, बैंकलाई नै भन्नुपर्छ । लकडाउनमा पनि बैंकका शाखा खुलेका थिए । अहिले अझै केहि खुलेको छ । अप्ठेरो पर्नेहरुलाई पासको व्यवस्था गरिदिन्छौं पनि भनेकै छौं । त्यतिले पनि नपुगेर हामीले धितोपत्र बोर्ड, नेप्से, सिडिएस र ब्रोकर कार्यालयमा हेल्ड डेस्क राखेर पनि सहजीकरण गरिरहेकै छौं । (नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत साउदसँग गरिएको कुराकानीमा आधारित ।)

Advertisement

Advertisement

Advertisement