पचास दिनपछि आज शेयर बजार खुल्यो, नेप्सेमा ‘हेल्प डेस्क’ स्थापना

Advertisement

काठमाडौँ । लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजदेखि नियमित सञ्चालनमा आएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।

नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले आजदेखि शेयर बजार सञ्चालनमा ल्याइएको हो ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुलेको हो ।

बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ ।

धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिनुभयो । नेप्से, सिडिएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालनमा आइसकेका छन् ।

नेप्सेमा ‘हेल्प डेस्क’ स्थापना
यता, धितोपत्रको दोस्रो बजार कारोवारमा आउन सक्ने सम्भावित गुनासो समाधानका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । धितोपत्र बोर्डमा यही वैशाख २६ गते भएको सरोकारवालाको बैठकमा लगानीकर्ताको गुनासा सुन्ने र समाधान गर्ने सम्बन्धमा हेल्प डेस्कको व्यवस्था गर्ने विषयमा सहमति भएको थियो ।

कारोवारका क्रममा कुनै पनि समस्या वा गुनासा आएमा उक्त हेल्प डेस्कमा सम्पर्क गर्न सकिने स्टकका सहायक प्रवक्ता आकृति दङ्गालले जानकारी दिनुभयो । नेप्सेले कुनै समस्या भएमा टोल प्र्रmी नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

के होला आजको बजार ?
लकडाउनका कारण बन्द हुनु अघि निरन्तर घटेको शेयर बजार ५० दिन पछि खुल्दै गर्दा अबको शेयर बजारको अवस्था कस्तो रहला भन्ने लगानीकर्ताहरुका लागि चासोको विषय बनेको छ । कोरोना कहरका कारण कसैले घट्न सक्ने आँकलन गरेका छन् भने केही शेयर विश्लेषकहरुले अबको दिनमा शेयर तल नझर्ने प्रतिक्रिया जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement