निर्मला पन्तको कथामा आधारित फिल्म डिशहोममार्फत रिलिज गरिँदै

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी रोक्न सरकारले लागू गरेको लकडाउन नहटेर छटपटाएका चलचित्र निर्माण आफ्ना चलचित्र रिलिज गर्न विकल्प खोज्न बाध्य भएका छन् । सोही क्रममा उनीहरुले डिशहोमलाई रोजेका छन् । फिल्म हलहरु कहिले खुल्ने ? भन्ने टुँगो नभएपछि उनीहरु बाध्य भएर विकल्पको खोजीमा पुगेका छन् ।

करोडौं रुपियाँ लगानी गरेर फिल्म निर्माण गरेका लगानीकर्ता मेहनत गरेका कलाकारहरु हलहरु बन्द हुँदा निराश देखिन्छन् । यसै क्रममा ‘कोपिला’ नामक फिल्म डिशहोम च्यानलमार्फत रिलिज गर्ने निष्कर्षमा फिल्म निर्माता पुगेका छन् ।

यस फिल्मका निर्माता मणिराज गौतमले डिशहोमको पे च्यानलमार्फत आफ्नो फिल्म रिलिज गरिने जानकारी दिएका छन् । दर्शकहरूले यो फिल्म डिशहोमको च्यानल नम्बर १०८ मा पैसा तिरेर हेर्न सक्नेछन् । गौतमका अनुसार हल कहिले खुल्ने हो ? टुंगो नभएकाले वैशाख ३० गतेबाट दैनिक आठ सोको दरले अब डिसहोमबाट फिल्म रिलिज गरिने छ । लकडाउनको अहिलेको समयमा दर्शकहरूले घरमै बसेर आफनो अनुकुलको समयमा नयाँ फिल्म हेर्ने मौका पाउने छन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा आधारित यो फिल्मको ट्रेलर सार्वजनिक गर्ने क्रममा निर्मलाको परिवारलाई ५० हजार रुपियाँ सहयोग पनि गरिएको थियो । चलचित्र प्रर्दशनबाट आएको रकमबाट १० प्रतिशत निर्मला पन्तको परिवारलाई प्रदान गरिने जनाइएको छ ।

कोपिला फिल्मको निर्देशक शिवम अधिकारी गरेका छन् भने गणेश गिरीको प्रस्तुति रहेको छ । यसको कार्यकारी निर्मातामा सुवास काफ्ले, निर्मातामा समीर मिया र रामेश्वर कार्की छन् । फिल्ममा सरिता गिरी, गणेश गिरी र सञ्जीवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, राखी क्षत्रीलगायतको अभिनय गरेका छन् । दीपक शर्माको संगीत रहेको कोपिला निर्देशक अधिकारीको लेखन, रामेश्वर कार्कीको छायांकन र समीर मियाको सम्पादनमा बनेको हो ।

Advertisement

Advertisement

Advertisement