सामाजिक सुरक्षा कोषबाट पेन्सन वितरण सुरु, कोष रु. एक अर्ब नाघ्यो

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषबाट श्रमिकका आश्रित परिवारलाई पेन्सन वितरण सुरु भएको छ । श्रमिकहरुको सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने उद्देश्यले सुरु गरिएको यस कोषबाट छ जना योगदानकर्ताको मृत्यु भएपछि उनको आश्रित परिवारले पेन्सन पाउन थालेको हो भने अन्य चार जनाको परिवारलाई पनि वितरणको तयारी भइरहेको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिए ।

कोषमा ४० हजार योगदानकर्ताको एक अर्ब रुपियाँभन्दा बढि रकम संकलन भइसकेको जानकारी दिँदै उनले हालसम्म आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत छ वटा दावीमा पाँच लाख ७७ हजार रुपियाँ भुक्तानी भइसकेको बताए । ज्ञवालीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा १५४ वटामा २६ लाख ४५ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा योजना १२ वटा दुर्घटनाको दावीवापत एक लाख १७ हजार रुपियाँ र वृद्धावस्था सुरक्षा योजनामा १२ जनालाई तीन लाख ९५ हजार रुपियाँ दावी भुक्तानी गरिसकिएको जानकारी दिए ।

कोषमा संकलित रकममध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा तीन करोड २५ लाख, दुर्घटना तथा असक्तता सुरक्षा योजनामा चार करोड ५५ लाख, आश्रित परिवार सुरक्षा योजनामा ८७ लाख र वृद्धावस्था सुरक्षा योजनामा ९२ करोड रुपियाँ जम्मा भएको कोषले जनाएको छ ।

कार्यकारी निर्देशक ज्ञवालीले होटललगायतका नयाँ क्षेत्र पनि कोषमा आवद्ध भइसकेको र बैंकहरुमध्ये केही आवद्ध भइसकेको र बाँकी पनि चाँडै आवद्ध हुने आशा व्यक्ति गर्न सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलाई भन्दा सामाजिक सुरक्षा कोषलाई सरकारले प्राथमिकतामा राखेको कुरा एक महिनाको योगदानको रकम राज्य कोषबाट व्यहोरेबाट पनि प्रष्ट हुने बताए ।

उनका अनुसार कोषको लगानी कार्यविधि पारितका लागि मन्त्रिपरिषदमा पठाइसकिएको जानकारी दिँदै उनले त्यो पास भएर आएपछि विभिन्न १२ क्षेत्रमा लगानीको बाटो खुल्ने र योगदानकर्ताले पनि सहजरुपमा ऋण लिने अवस्था सिर्जना हुने बताए ।

Advertisement

Advertisement

Advertisement