भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत जुट्यो, डिपिआर अन्तिम चरणमा

Advertisement

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँसँग सहज सम्पर्कका लागि वाग्मती प्रदेश सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि स्रोत व्यवस्थापन गरेको छ । नेकपा (माओवादी केन्द्र)का तत्कालीन महासचिव पोष्टबहादुर बोगटीको सम्मानमा वाग्मती प्रदेश सरकारले सो सुरुङमार्गको नाम पोष्टबहादुर बोगटी सुरुङमार्ग तय गरेको छ ।

आयोजनाको कूल लागत रु १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार रहने अनुमान गरिएको छ । वाग्मती प्रदेश सरकारको रणनीतिक महत्वको आयोजनाका रूपमा रहेको सो सुरुङमार्गलाई बहुवर्षीय रुपमा स्रोतको व्यवस्थापन गरिएको हो । प्रदेश सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चितता गरेको पत्र आर्थिक मामिला तथा योजना मन्त्रालयले यही वैशाख २८ गते आइतबार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पठाएको छ ।

स्रोत सुनिश्चित भएपछि प्रदेश सरकारले सुरुङमार्ग निर्माणको काम अगाडि बढाउने तयारी थालेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको पत्रमा चार आर्थिक वर्षमा खर्च गर्ने गरी स्रोतको व्यवस्थापन गरिएको छ । सो परियोजनाका लागि आर्थिक वर्ष २०७७र७८ देखि आव २०८०र८१ सम्म खर्च गर्ने गरी स्रोतको व्यवस्थापन गरिएको छ । अन्तर्राष्ट्रिय बोलपत्रमार्फत निर्माण व्यवसायी र सुपरीवेक्षण परामर्श सेवासमेत छनोट गर्ने तयारीमा रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बहुवर्षीय गुरुयोजना स्वीकृत गर्नुपूर्व स्रोत सुनिश्चितताकाका लागि भौतिक पधूर्वाधार विकास मन्त्रालयकै बजेट सिलिङभित्र रहने गरी मात्र प्रदान गरिएको जनाएको छ । सो मन्त्रालयको अन्य कार्यक्रममा पर्ने प्रभावको प्रक्षेपण गर्ने, स्वीकृत भएका बहुवर्षीय योजनाका लागि आगामी वर्षमा मन्त्रालयको सिलिङभित्रै रहने गरी प्राथमिताका साथ बजेट विनियोजन गर्ने र सिलिङभन्दा थप बजेट स्वीकृत नहुने व्यवस्था गरिएको छ । सम्पूर्ण स्वीकृत बहुवर्षीय गुरुयोजनालाई मन्त्रालयको मध्यकालीन खर्च संरचनामा सवमोश गरिने भएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा समावेश गरेको छ । सो आयोजनाका लागि वाग्मती प्रदेश सरकारले चालू आवमा समेत बजेटको व्यवस्था गरेको थियो ।

यसअघि सो आयोजना नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको लगानी रहेको पूर्वाधार कम्पनीले निर्माण गर्ने गरी स्वीकृति लिएको थियो । स्रोतको व्यवस्थापन गर्न नसकेका कारण आयोजनाले गति लिन सकेको थिएन । वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको निर्णयअनुसार नै स्रोतको व्यवस्थापन भएको जानकारी दिए । उनले भने, “अन्तर्राष्ट्रिय बोलपत्रको तयारी भइसकेको छ, केही समयभित्रै बोलपत्र आह्वान हुन्छ ।”

भीमफेदी गाउँपालिका–६ बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी जोड्ने गरी ३ दशमलव २१ किलोमिटर लामो सुरुङ निर्माण गर्न लागिएको हो । सुरुङमार्ग दुईलेनको हुनेछ । सुरुङको चौडाइ १५ मिटर हुनेछ । दुवै लेन साढे सात मिटर फराकिलो हुने बताइएको छ । सुरुङको दुवैतिर गरी साढे दुई किलोमिटर लामो सहायकसडक र तीनवटा पुल निर्माण हुनेछ ।

सम्झौता भएको ४२ महिनामा काम सक्ने लक्ष्य राखिएको उक्त सुरुङमार्गले भीमफेदी–कुलेखानी सडकको दूरी १७ किमीले छोटिने छ । प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग ६५ किलोमिटरमा सीमित हुनेछ । उच्च जोखिम, घुमाउरो र साँघुरो खण्डमा तीन किमी सुरुङ बनाउन लागिएको प्रदेश सरकारले जानकारी दिएको छ ।

बहुवर्षीय योजनालाई आव २०७७/७८ मा रु दुई अर्ब, २०७८/७९ मा रु छ अर्ब, २०७९/८० मा रु छ अर्ब र २०८०/८१ मा रु चार अर्ब रहने गरी विनियोजन गरिने भएको छ । मन्त्री जम्मकट्टेलले कानूनी तथा प्राविधिक तयारी पूरा गरी प्रदेश सरकार आफैँले निर्माण गर्ने गरी प्रक्रिया शुरु भएको जानकारी दिए । सुरुङसँगै सिस्नेरीतर्फको सडकको स्तरोन्नति गरिनेछ ।

प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग नामाकरण गरेर यसको निर्माणको तयारी थालेको पनि झण्डै दुई वर्ष हुन लागेको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले सो सुरुङ प्रदेश सरकारको प्राथकितामा रहेको बताउँदै निर्माणमा चासो व्यक्त गर्दै आएका छन् । सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तिम चरणमा पुगेको छ । रासस

Advertisement

Advertisement

Advertisement