अर्थतन्त्रको आकारः जीडीपीमा वाग्मती प्रदेश सबल, कर्णाली सबैभन्दा पुछारमा

Advertisement

काठमाडौँ । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा मुलुकको सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेश शीर्षस्थानमा रहेको छ । कूल जिडिपीमा सो प्रदेशको योगदान ३५.८४ प्रतिशत रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कूल ग्रार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेश सबल रहेको देखाएको हो । विभागका अनुसार सो प्रदेशको अर्थतन्त्रको आकार रु १३ खर्ब ५० अर्ब हुने अनुमान गरिएको छ । मुलुकको कूल रु ३७ खर्ब ६७ अर्ब बराबरको जिडिपीमा सो प्रदेशको हिस्सा झण्डै एक तिहाइ बराबर रहेको छ ।

यसैगरी कूल जिडिपीमा प्रदेश १ को हिस्सा १५.८२, प्रदेश ५ को हिस्सा १४.१८, प्रदेश २ को हिस्सा १३.७८, गण्डकी प्रदेशको हिस्सा ८.९, सुदूरपश्चिमको हिस्सा ७.२१ र कर्णाली प्रदेशको हिस्सा ४.२७ प्रतिशत रहने विभागले अनुमान सार्वजनिक गरेको छ ।

विभागका अनुसार प्रदेश १ को रु पाँच खर्ब ९६ अर्ब, प्रदेश २ को रु पाँच खर्ब १९ अर्ब, वाग्मती प्रदेशको रु १३ खर्ब ५० अर्ब, गण्डकी प्रदेशको रु तीन खर्ब ३५ अर्ब, प्रदेश ५ को रु पाँच खर्ब ५४ अर्ब, कर्णाली प्रदेशको रु एक खर्ब ६१ अर्ब र सुदूरपश्चिम प्रदेशको रु दुई २ खर्ब ७२ अर्ब बराबरको अर्थतन्त्रको आकार हुने अनुमान गरिएको छ ।

यस्तै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा वाग्मती प्रदेश सबैभन्दा कमजोर रहने विभागको अनुमान छ । यस वर्ष सो प्रदेशको आर्थिक वृद्धिदर १.३ प्रतिशतमा सीमित हुने देखिएको छ । प्रदेश १ को ३.४१, प्रदेश २ को २.२८, गण्डकी प्रदेश २.६८, प्रदेश ५ को दुई र कर्णाली प्रदेशको ३.५६ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान छ । आर्थिक वृद्धिमा सबैभन्दा बलियो सुदूरपश्चिम प्रदेश हुने विभागको दाबी छ । सो प्रदेशको आर्थिक वृद्धिदर ४.०८ प्रतिशत हुने अनुमान छ ।

कोरोनाका कारण मुलुकको समग्र अर्थतन्त्रमा ठूलो समस्या पैदा भएकाले सबै प्रदेशमा त्यसको प्रभाव पर्ने देखिएको छ । सरकारले चालू आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको भए पनि विभागले केही दिनपहिले सार्वजनिक गरेको तथ्याङ्कमा २.२७ प्रतिशतमा आर्थिक वृद्धि सीमित हुने प्रक्षेपण गरेको छ । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका कारण आर्थिक गतिविधि पूर्णरुपमा ठप्प प्रायः छ ।

विभागले चालू आवको वस्तु तथा सेवाको उत्पादनको अनुमान तथा सूचकहरु तयार पार्दा होटल तथा रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्रमा आवको अन्त्यसम्म नै प्रभावित हुने तथा अन्य क्षेत्रका आर्थिक गतिविधि आगामी जेठबाट क्रमशः नियमति हुने विश्वास गरेको छ ।

औद्योगिक वर्गीकरणअनुसार आर्थिक क्रियाकलाप हेर्दा गत आव र यस आवमा वाग्मती प्रदेशबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी रहेको पाइएको छ । सङ्घीय राजधानी रहेको वाग्मती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी रहेको विभागको भनाइ छ । प्रदेश १, प्रदेश २ र प्रदेश ५ मा व्यापार क्षेत्रको हिस्सा दोस्रोमा रहेको छ । रासस

Advertisement

Advertisement

Advertisement