सीमा मिचेर सडक बनाएको थाहै भएन्ः प्रधानमन्त्री, सरकारलाई थाहा नहुने कुरैभएनः परराष्ट्रमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सोबारे आफूलाई कसैले रिपोेर्टिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमा गरेका हुन् ।

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसद्मा उभिएर भारतले बनाएको सडकबारे सरकारलाई जानकारी भएको बताएका थिए । तर, प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे आफूलाई थाहा नभएको बताएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गरेका थिए । यसबारे संसद् र संसदीय समितिहरूमा भएको छलफलदेखि दलहरूले लिएको अडानबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले झन्डै आधा घन्टा यसबारे बोलेका थिए । उनले सुगौली सन्धिअनुसार काली नदीपूर्वको भू–भाग नेपालको भएको बताए ।

प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्वसूचना आफूसँग नभएको उल्लेख गर्दै पत्रपत्रिका हेरर थाहा पाएको बताए । बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त बैठकमा जेठ सो कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

त्यसै गरी बैठकमा प्रधानमन्त्री ओली अहिलेको अवस्थालाई लकडाउन भनिँदैन भन्दै कडारूपमा प्रस्तुत भएका थिए । एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले लकडाउन कडा पार्न तत्काल कदम चाल्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशनसमेत दिएका थिए ।

मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकमा लकडाउनबारे कुनै एजेन्डा थिएन । तर, प्रधानमन्त्री पछिल्लो तीन दिनयता काठमाडौंमा देखिएको दृश्यबाट असन्तुष्ट देखिएको बुझिएको छ ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement