कान्छा सिइओले सम्हालेको एनआइसी एसियाको नाफा २५० करोड नाघ्यो, अरु सूचक कस्ता ?

Advertisement

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिक अवधीको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कोरोनाको कहरबीच पनि बैंकका वित्तीय परिसूचकहरू अत्यन्त उत्साहजनक रहेका छन् ।

विश्वव्यापी महामारीको कारण सिर्जित असहज परिस्थितिको बाबजुद बैंकले चालु आवको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १२ प्रतिशत अर्थात ३८ करोड) ले वृद्धि गरी ३ अर्ब ६० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १० प्रतिशत अर्थात २६ करोडको वृद्धि सहित २ अर्ब ५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा २ अर्ब २८ करोड रहेको थियो ।

चैत मसान्त अवधीसम्ममा बैंकले कर्जातर्फ २५ अर्बले वृद्धि गरी १७५ अर्ब र निक्षेप संकलनतर्फ १५ अर्बले वृद्धि गरी १९६ अर्ब पु¥याउन सफल भएको छ । कर्जा तथा निक्षेपको हिसाबले एनआईसी एशिया बैंक देशमै अग्रणी मध्येमा पर्छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७४ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पुर्ण रूपले पालना गरेको छ । विविधिकरण कै रणनीति अनुरूप बैंकको उच्चतम दश ग्राहकहरुको कुल कर्जा बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम रहेको छ । जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ ।

निक्षेपतर्फ पनि बैंक विविधिरणको रणनीति अनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको ८.७ प्रतिशत रहेको छ, जुन बैंकिङ्ग क्षेत्रको उत्कृष्टमध्ये एक हो । बैंकले ९ महिनामा ६ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अबधीमा १५ अर्बले बढेको छ । निक्षेप तर्फ १० ग्राहक महानुभावहरूको अंश ११ प्रतित रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ । चल्ती तथा बचत निक्षेप(कासा) को हिसाबले यस बैंक देशकै अग्रणी बैंकहरुमा पर्दछ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख भन्दा बढी ग्राहक आधार बैंकले गत आवमा करिब ३ अर्ब १५ करोड भन्दा बढी राजश्व तिरेको थियो । बैंकको खराब कर्जा ०.७५ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.०२ प्रतिशत छ । आधार ब्याजदर ९.६१ प्रतिशत कायम हुँदा स्प्रेडदर ४.९२ प्रतिशत र सीडी रेसीयो ७८.१८ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement