दुई दिनको सेयर कारोबार रद्ध गर्नुपर्छः फुल्लेल

Advertisement

हामी लगानीकर्ताहरुले बजार खोल्नु उपयुक्त हुन्न भनिरहेका थियौं । तर बजार खोलियो । दुई दिन बजार खोल्दा बजार पुँजीकरण ६४ अर्बले घटेको छ । यो भनेको लगानीकर्ता माथीको अन्याय हो । दुई दिनमै लगानीकर्ताको सम्पति ६४ अर्बले क्षति भएको छ, यसरी बजार घट्नुको कुनै औचित्य पुष्टि हुँदैन् । त्यसकारण, अब बजार बन्द गरेर मात्रै हुँदैन्, दुई दिन गरिएको सेयर कारोबार रद्ध गरिनुपर्छ ।

जुन आधारमा रहेर कारोबार गर्ने सहमति भएको थियो, त्यो कुनै पनि कुरा कार्यान्वयन भएन् । डिम्याट भेरिफिकेशन नभई पनि कारोबार गरिएको छ । १०/२० कित्ताको खेल खेलेर बजार घटाउने काम गरियो । लाखौं लगानीकर्ताको सेयरको मूल्य १० कित्ताले निर्धारण गर्न सकिन्न ।

यतिबेला डीम्याट खाता लिने लगानीकर्ताहरुको संख्या १६ लाख ५९ हजार ९१ वटा छन् । त्यसलाई आधार मान्दा ०.०४ प्रतिशतले दुई दिनको मात्रै कारोबारमा सहभागीता जनाएका छन् । सेयर बजारको इतिहासमा १६ हजार ७ सय २५ जना लगानीकर्ताले कारोबार गरेको दिनलाई रेकर्डमा मानिन्छ । बुधबार १३ सय ५४ जनाले कारोबार गरेका छन् । त्यसमध्ये अनलाइन कारोबार गर्नेको संख्या ७६९ जना मात्रै छ । यो भनेको जम्मा ४.५ प्रतिशतले मात्रै कारोबारमा सहभागीता जनाएको देखिन्छ ।

अहिलेसम्म धेरै अनलाइन कारोबार भनेको जम्मा ३ हजार ९ सय १४ जनाले गरेका थिए । त्यसलाई आधार मान्ने हो भने बुधबार १९.६४ प्रतिशतले मात्रै अनलाइनबाट कारोबार भएको छ । यसले स्पष्ट हुन्छ की अनलाइनबाट पनि सेयर कारोबार भैरहेको छैन र हुने अवस्था पनि थिएन् । मंगलबार पनि जम्मा १६ सय ७१ जनाले मात्रै कारोबारमा सहभागीता जनाएका थिए । जसमध्ये ८ सय ८४ जनाले मात्रै अनलाइन कारोबार गरेका थिए ।

दोश्रो दिन १३५४ जनाले कारोबार गर्दा ७६९ जनाले अनलाइन खरिद बिक्रि गरेका थिए । चैत ९ गतेसम्म अनलाइन लिने लगानीकर्ताको संख्या २७ हजार एक सय एक जना थियो । बुधबार त्यो संख्या २७ हजार २ सय ५२ पुगेको छ । अर्थात १५१ जनाले मात्रै अनलाइन लिएको देखियो । यी सबै तथ्यांकहरुले स्पष्ट पार्छ की अनलाइन लिएका लगानीकर्ताले समेत सेयर कारोबारमा सहभागी हुन नसक्ने अवस्था देखियो ।

लगानीकर्ताहरु ब्रोकर अफिसमै जानुपर्ने बाध्यता कायमै रहेको पनि देखियो । यतिबेला ९९.५ प्रतिशत लगानीकर्ता घरमै थुनिएका छन् ।  कुल अनलाइन लिनेमध्ये पनि २.८२ प्रतिशतले मात्रै दुई दिनको सेयर किनबेचमा सहभागीता जनाएको देखियो ।  अनलाइन कारोबार दिएर किन्ने र बेच्ने कुरालाई मात्रै पूर्ण कारोबार मान्न सकिन्न । अहिलेको अवस्थामा लगानीकर्ताहरु ब्रोकर अफिसमै पुगेर राफसाफमा सहभागी हुनुपर्ने बाध्यता कायमै छ ।

यसरी गरौं सेयर कारोबार खुल्ला
बैंक तथा वित्तीय संस्थाले लगानी गर्न पाउने ईन्स्योरेन्स र ‘घ’ वर्गका संस्थाको शेयरको हाल कायम सिमालाई बढाएर शत प्रतिशत बढाउनु पर्छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने शेयर धितो कर्जाको प्राथमिक पुँजी कोषको सिमा शत प्रतिशत गरिनु पर्छ । शेयर धितो कर्जामा दिंईंदै आएको मार्जिनलाई ८० प्रतिशत सम्म पुर्याउनु पर्छ । कोरोनाको असरबाट बैकिङ क्षेत्रको बित्तिय सन्तुलन कायम राख्न नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा, बीमा समितिले बीमा कम्पनी लगायतमा नगद लाभांश बितरणलाई प्रोत्साहन नगरी र बोनस शेयर मात्रै बितरण गर्ने कुरा आश्वस्त गरिनुपर्छ । यसले बजारमा सकारात्मक असर पर्छ ।

लगानीकर्ताको मनोबल उठाउन र बजारको गिरावटलाई रोक्न संस्थागत लगानिकर्ता (डिलर, मार्केट मेकर, म्यचुअल फण्ड, बीमा कंम्पनी, संचय कोष) लगायतलाई लगानी गर्न प्रोत्साहन गर्ने तथा सरकार र राष्ट्र बैंकले नीति नियम बनाउदा शेयर बजारलाई सहयोग हुने गरि बनाउनुपर्छ । बैंकको ब्याजदर घटाउने, झन्झट रहित लोनको सुविधा उपलब्ध गराउने जस्ता राहतका प्याकेज अथवा सम्बोधन पछि मात्रै बजार खोल्दा लगानीकर्ताहरूले ढुक्कसंग लगानी गर्ने वातावरण बन्छ । लगानीकर्तालाई घरमा थुनेर होइन, सहज रुपमा बैंक, ब्रोकर कार्यालय जान सक्ने अवस्था आएपछि मात्रै बजार खोल्नुपर्छ । -लेखक सेयर बजार लगानीकर्ता संघ, नेपालका उपाध्यक्ष हुन् ।

Advertisement

Advertisement

Advertisement