हेटौँडा सिमेन्ट उद्योग आजबाट सञ्चालनमा, चुनढुङ्गा र कोइलाको भने समस्या

Advertisement

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सरकारले गत चैत ११ गतेबाट लकडाउन जारी गरेपछि सो उद्योगको उत्पादन तथा बिक्री बन्द भएको थियो ।

तर हालै सरकारले उद्योग सञ्चालन गर्न शर्तसहित खुकुलो गरेपछि आजबाट उद्योग सञ्चालनमा आएको महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए । तर उद्योगको सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा र कोइलाको समस्या रहेको जनाइएको छ ।

चुनढङ्गा उत्खननको काम रोकिएको छ भने भारतबाट वीरगञ्ज नाका हुँदै कोइला आयत गर्न समस्या रहेको उनले बताए । अन्य समयमा दैनिक ७५० बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले कतिबोरा सिमेन्ट उत्पादन गर्छ, त्यो पछि जानकारी हुने र उद्योग हाल पूर्ण क्षमतामा सञ्चालन हुने अवस्थामा नरहेको बताइएको छ ।

हाल उद्योगसँग विगतमा उत्पादन गरिएका करिब तीन लाख बोरा सिमेन्ट मौज्दात रहेको छ । जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर यही वैशाख १४ गतेबाट उत्पादित सिमेन्ट बिक्री भइरहेको उद्योग प्रशासनले जनाएको छ । सो उद्योगमा प्राविधिक कर्मचारी र मजदुरसहित ३४२ कार्यरत रहेका छन । तर अहिले ५० जनशक्तिबाट उद्योग सञ्चालन भएको हो । अन्य उद्योगको तुलनामा हेटौँडा सिमेन्टको उत्पादन गुणस्तरीय रहेको उपभोक्तको विश्वास छ ।

त्यस्तै हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १११ उद्योगमध्ये ७० उद्योग सञ्चालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । औद्योगिक क्षेत्रका कार्यालय प्रमुख राजेन्द्र कँडेलका अनुसार सञ्चालित उद्योग पूर्ण क्षमतामा सञ्चालन नभएको जानकारी दिए ।

सञ्चालित उद्योग ३० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको जनाइएको छ । उनका अनुसार एशियन पेन्टस्, आरएम केमिकल्स, महाशक्ति शोप, खजुरी नेपाल, इन्टाइटिक बिस्कुट उद्योगलगायतका ठूला उद्योगका साथै अन्य दाना, खानेपानी, दूध पदार्थ, मैदा उद्योगलगायतका खाद्य पदार्थ उत्पादन गर्ने उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा जनशक्ति अभाव, कच्चा पदार्थका कमी र ढुवानीलगायतका समस्या छ । औधोगिक क्षेत्रअन्तर्गत उद्योग बन्द हुँदा दैनिक ३० करोड घाटा हुने अनुमान छ ।

कार्यालय प्रमुख कँडेलले बन्द रहेको थप उद्योगलाई पनि सञ्चालनका लागि वातावरण तयारी भइरहेको बताउनुभयो । यसैबीच प्रदेश नं २ को बारा र पर्सामा कोरोना सङ्क्रमित फेला परेपछि हेटौँडालगायत मकवानपुर जिल्लामा लकडाउन कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा लकडाउनको प्रभावबारे हेटौँडा बजारमा अनुगमनसमेत गरेको छ । लकडाउनलाई कडा पार्न प्रहरी टोली व्यापकरुपमा परिचालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement