बीमा कम्पनीको लाइसेन्स खोल्ने अर्थमन्त्रीको संकेत, भनेः बीमा र पुनर्बीमा थप्न बाध्य हुन्छौं

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ बीमा र पुनर्बीमा कम्पनीको लाइसेन्स खोल्ने चेतावनी दिएका छन् । बीमा समितिको ५२ औं बार्षिकोत्सवका अवसरमा बीमा समितिले आयोजना गरेको वेविनारमा उनले नयाँ बीमा र पुनर्बीमा कम्पनीको लाइसेन्स खोल्न सक्ने बताएका हुन् ।

उनले बीमाको पहुँच बढाउन नसक्ने भए नयाँ कम्पनी थप्नुपर्ने बताए । अर्थमन्त्री डा. खतिवडाले बीमाको पहुँच द्रुत गतिमा विस्तार गर्नुपर्ने बताउँदै अहिलेका कम्पनीहरुले त्यस्तो सम्भव नभएमा नयाँ कम्पनी थप्नुपर्नेमा जोड दिए ।
उनले पुनर्बीमा कम्पनीले समेत पुनर्बीमाको दायरा बढाउन सक्नुपर्ने अन्यथा नयाँ पुनर्बीमा कम्पनी खोल्नुपर्ने बताए ।

मन्त्री खतिवडाले बीमा र पुनर्बीमा कम्पनीहरु पसल थापेर बस्ने अवस्था नरहेकाले बजार खोज्दै हिड्नुपर्ने बताए । अन्यथा निजी क्षेत्रलाई अघि सारेर नयाँ कम्पनीहरु खोल्न बाध्य हुने चेतावनी पनि उनले दिए । ‘बीमाको दायरा बढाऔं, नसके नयाँ संस्था खोलौं । पुनर्बीमा कम्पनीले सकिन्छ दायरा बढाऔं नभए नयाँ संस्था खोलौं ।’

उनले लघु बीमाको विस्तार प्राथमिकतामा राख्नुपर्ने, बीमा समितिको नियामिकय क्षमता बढ्नुपर्नेमा पनि जोड दिए ।
उनले अहिले कृषि तथा पशु बीमाको कार्यक्रमलाई व्यापक बनाउनुपर्नेमा पनि जोड दिए ।

उनले चाँडै बीमा प्राधिकरण ऐन संसदबाट पारित हुने र बीमाको नियमन तथा व्यवसाय विस्तारले व्यापकता पाउने पनि बताए । अर्थमन्त्री डा. खतिवडाले बजेटमा बीमा क्षेत्रका केहि सुझाव भएमा इमेलबाट पठाउन अनुरोध पनि बताए ।

Advertisement

Advertisement

Advertisement