त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई क्वारेन्टाइनमा राख्ने तयारी

Advertisement

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राख्ने तयारी गरेको छ ।

अस्पतालको न्यूरो सर्जरी वार्डको शय्या नं ५० मा भर्ना भएकी छ वर्षीया बालिकामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती बालिका नाक, कान, घाँँटीको बिरामी रहेको अस्पतालले जनाएको छ । अहिले ती बालिकालाई गणेशमान भवनमा आइसोलेसनमा राखी उपचार शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी बिरामीको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिमा कोरोना पुष्टि भएमा ‘कन्ट्र्याक ट्रेसिङ’ र परीक्षण गरिने अस्पतालले जनाएको छ । निर्देशक प्रा डा खड्गाले बाँकी स्वास्थ्यकर्मीलाई आफ्नो नियमित काममा फर्कन अनुरोध गरेका छन् । अस्पतालले अत्यावश्यकबाहेक शल्यक्रिया नगर्न र आकस्मिक शल्यक्रिया गर्दा व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) प्रयोग अनिवार्य गर्न सबै चिकित्सकलाई अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement