कोरोना अपडेटः विश्वभर ३ लाख ३ हजारको मृत्यु, ४५ लाख बढी संक्रमित

Advertisement

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५ लाख ४२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार ३२४ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१७ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ५४८ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख २६ हजारको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार ६१४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७१५ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ७७२ जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८६ हजार ९१२ पुगेको छ । कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा २६२, स्पेनमा २१७ र फ्रान्समा ३५१ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार ९९३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८३५ जनाको ज्यान गएको छ । रासस–एएफपी

Advertisement

Advertisement

Advertisement