सरकारले केन्द्रमा तीन सय र प्रदेशमा पचास शय्याको सरुवा रोग अस्पताल निर्माण गर्ने

Advertisement

काठमाडौँ । सरकारले सातवटै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने भएको छ । संघीय संसद्को दुवै सदनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रयोगशाला परीक्षण सेवासहितको तीन सय शय्याको केन्द्रीय र न्यूनतम ५० शय्याको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने उल्लेख गरिन् ।

अहिले संघमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मात्र रहेको छ । नीति तथा कार्यक्रममा आगामी तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बीमा गरिने उल्लेख छ । यसैगरी स्थानीय तहको स्वास्थ्य सेवाको गुणस्तरलाई समेत वृद्धि गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । एउटा स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी जिल्लामा रहेको अस्पताललाई २५ देखि ५० शय्या र तत्कालीन अञ्चलमा रहेका अस्पताललाई दुई सय शय्याको बनाइने सरकार नीति तथा कार्यक्रममा जनाइएको छ । सरकारले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल, कोशी, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेल्धुरा अस्पताललाई पाँच सय शय्याको अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।

यसैगरी प्रमुख राजमार्गमा ट्रमा सेन्टर सञ्चालन गर्ने र एकीकृत एम्बुलेन्स सेवा विस्तार गरिने । प्रतिरोधात्मक तथा निरोधात्मकसम्बन्धी स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिने छ । अहिलेसम्म ६७१ वडामा पूर्ण खोप सेवा पु¥याइएकामा आगामी वर्ष सबै वडामा पूर्ण खोप सेवा पुर्याइने सरकारको लक्ष्य छ ।

Advertisement

Advertisement

Advertisement