भन्ने २५ किलो, बेच्ने २१ किलोमात्रै, विभागले गर्यो ३ लाख जरिवाना

Advertisement

काठमाडौँ ।  बिक्री बिल जारी नगरी कम तौलको चामल बिक्री गरेको भन्दैे एक पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएको गोप्य सूचनालाई आधार बनाएर गरिएको अनुगमनमा मैतीदेवीस्थित मातारानी ट्रेडिङले स्थानीय चामल भन्दै छुट्टाछुट्टै तौल राखेर बिक्री गरेको भेटिएपछि कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको छ ।

गुनासोका आधारमा विभाग र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गर्दा २५ किलोको बोरा भन्दै २१, २२ र २३ किलोको चामल बिक्री गरिएको भेटिएपछि तत्काल उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार तीन छुटै तौल भएको चामलको बोरा नापतौल विभागले परीक्षणका लागि लगेको छ । स्थानीय चामल या बाहिरबाट ल्याएर स्थानीय भन्दै बिक्री गरिएको परीक्षणको रिपोर्ट आएपछि थाहा हुने उनले जानकारी दिए ।

अनुगमनका क्रममा लोकल चामल भनेर अरुबाट नै खरीद गरेर चामल बिक्री गरेको र तौलका विषयमा आफू जानकार नभएको पसल सञ्चालकले बताएको उनले जानकारी दिए । “प्रारम्भिक अनुगमनका क्रममा बिक्री गर्ने पसलको पनि कमजोरी देखिएकाले तत्काल कारवाही गरिएको हो । चामल बिक्री गर्ने अन्य व्यक्तिहरुको खोजी गरिएको छ”, उनले भने, “गल्ती गर्नेहरुलाई नियमअनुसार विभाग र नापतौल विभागले छुट्टाछुट्टै कारवाही गर्नेछन् ।”

Advertisement

Advertisement

Advertisement