लज्जित हुनुपर्ने नीति तथा कार्यक्रमः देउवा, 'उद्योगी व्यवसायीदेखि विपन्न र बेरोजगारसम्म निराश छन्'

Advertisement

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारीले पारेको क्षति र दुःखलाई सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको भन्दै आलोचना गरेका छन् । आइतबार संसदमा बोल्दै उनले नीति तथा कार्यक्रमको आलोचना गरेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम कोरा कल्पना मात्रै भएको भन्दै देउवाले यसबाट सरकारलाई कोभिड १९ ले गरेको र गर्ने क्षतिबारे ज्ञान नभएको देखिएको बताए । साथै, उनले सरकारलाई जनताको दुःखप्रति कुनै समवेदना छैन भन्ने देखिएको बताउँदै जनताको पीडा बुझ्नसक्ने हृदय सरकारसँग नभएको आरोप लगाए । सरकारसँग अप्ठ्यारो बेलामा भविष्यका लागि जनता आश्वस्त बनाउने कुनै योजना पनि नरहेको देउवाको भनाई थियो ।

नेता देउवाले अहिलेको जटिल परिस्थितिमा जनताले यस्तो खालको नीति र कार्यक्रमको अपेक्षा नगरेको भन्दै यसले किसान, विदेशमा रोजगारी गुमाएका, क्वारेन्टाइनमा अलपत्र रहेका, साँझ बिहान छाक टार्न मुस्किल परेका, मजदुर, विद्यार्थीको समस्या सम्बोधन गर्न नसक्ने बताए । कोरोना प्रभावित उद्योग व्यवसायले यतिबेला विशेष राहत प्याकेज खोजे पनि नीति तथा कार्यक्रमले त्यसलाई सम्बोधन नगरेको भन्दै उनले स्वास्थ्य सामग्रीको अभाव अन्त्य गर्ने योजनासमेत नआएको बताए ।

देउवाले सीमा बाहिर बिचल्लीमा परेका र देशभित्र बिचल्लीमा रहेका नागरिकलाई ससम्मान घर पुर्‍याउन सरकारले नसकेको भन्दै कोरोनाविरुद्ध लड्न सरकारले कुनै पनि तयारी नगरेको बताए । एकवर्षे नीति तथा कार्यक्रममा तीन बर्षे योजनाहरु राखिएको बताउँदै उनले नीति तथा कार्यक्रममा १० वर्षे योजना जस्तो देखिएको बताए । यो नीति तथा कार्यक्रमले जनतामा आशा र विश्वास जगाउन असफल भएको बताए ।

कोरोनाको पहिलो संक्रमित भेटिएको ४ महिना बितिसक्दा पनि सरकारले सुरक्षित र विश्सनीय परीक्षणको व्यवस्था गर्न नसकेको भन्दै नीति तथा कार्यक्रम सरकारको आत्मप्रशंसा मात्रै भएको बताए । अहिलेको सरकारको दुई वर्षका नीति तथा कार्यक्रम हेरेर लज्जित बन्नुपर्ने स्थिति रहेको देउवाको भनाई छ ।

पुँजीगत खर्च न्यून भएका घटनाले सरकारले दाबी गरेको विकासको गति तीव्र भएको भन्ने कुरालाई गिज्याइरहेको भन्दै उनले गुरुयोजना नबनाइ कार्यक्रम ल्याएको आरोप लगाए । देउवाले भने पूराना योजना पनि दोहोर्‍याउने र कोरोना महामारीविरुद्ध लड्न बजेट छुट्याउने हो भने कसरी स्रोत व्यवस्थापन गर्ने हो ? भन्दै प्रश्न पनि गरे ।

नेता देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मन्त्री नै भ्रष्टाचारमा संलग्न भएको घटना सार्वजनिक भएको अवस्थामा सरकारले भ्रष्टाचार नियन्त्रणको कुरा गर्ने जग हँसाउनु भएको भन्दै प्रधानमन्त्रीले नै अनियमितता ढाकछोप गर्न लागिपरेको बताए ।

नीति तथा कार्यक्रममा लिपुलेक, कालापानी र लिम्पियाधुराको कुरा राख्नु सकरात्मक भए पनि अपुरो रहेको देउवाको तर्क छ । यसमा चीनसँग वार्ता गर्ने योजना नरहेको उनले बताए । साथै, देउवाले एमसीसी संसदमा पेश गर्न आग्रह पनि गरेका छन् ।

Advertisement

Advertisement

Advertisement