कौसी खेतीः शहरी क्षेत्रमा समय कटाउने र खाँचो टार्ने उत्तम विकल्प हुनसक्ने

Advertisement

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रवद्र्धन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रवद्र्धन गर्ने’ उल्लेख गरिएको छ ।

देशभर उत्पादनशील जमिन ठूलो मात्रामा बाँझो भइरहेको बेला विशेषतः सहरी क्षेत्रमा प्रचलित यो नीतिले अर्थतन्त्रमा कति योगदान देला ? यसको अध्ययन हुन बाँकी नै छ । विगत केही वर्षदेखि राजधानी लगायतका सहरी क्षेत्रमा यसले निकै स्थान पाइरहेको छ । विश्वव्यापी महामारीका कारण सिर्जना भएको अहिलेको वातावरणमा सहरी क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि घरमा कौसी खेती समय कटाउने र खाँचो टार्ने उत्तम विकल्प हुन सक्छ ।

दुई महिनायता जारी बन्दाबन्दीको समयमा फुर्सदिला भएका उपत्यकावासीले कतिपयले घरको कौसीमा खेती गरिरहेका छन् । समय बिताउन पनि हुने र कौसीमा फलेका तरकारीले छाक पनि टर्ने भएकाले कौसी खेतीतर्फ आकर्षण बढेको हो । धेरैले कौसीमा फर्सी, करेला, काँक्रो, रायोको साग, सिमी, घिउ सिमी, टाटे सिमी, तने बोडी, स्विस साग, तेल साग लगायतका तरकारी लगाउने गरेको पाइएको छ । कतिपय फल्न थालेका छन् भने साग जातका तरकारी खान तयार भएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं।–१९ क्वेताहिटी निवासी शेषनारायण महर्जन घरको कौसीमै तरकारी फलाउन हुने, कौसीमा उत्पादन भएको तरकारीले ७५ प्रतिशतसम्म ताजा तरकारीको आवश्यकता पूर्ति हुने अनुभव सुनाउछन् । महर्जनले विगत १२ वर्षदेखि घरको छतमै तरकारी फलाउँदै आएका हुन् । उनले बगैँचा बनाउने, नर्सरी लगायत कौसी खेतीका बारेमा समेत प्रशिक्षण दिँदै आएका छन् ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement