‘सरकारको नीति कार्यक्रम पर्यटन व्यवसायलाई पुनःजीवन दिने खालको आएन’

,   ५ जेष्ठ २०७७, सोमबार, ०९:२५ pm   
tourist

काठमाडौँ । पर्यटन व्यवसायीले सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई पुनःजीवन दिने खालको बजेट नआएको बताएका छन् । पर्यटन व्यवसायीका विभिन्न छाता सङ्गठनले आज संयुक्त विज्ञप्ती जारी गर्दै सरकारले सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन व्यवसायीको मर्म र भावना समेट्न नसकेको बताएका हुन् ।

ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भाइरसको सङ्क्रमणबाट थला परेको पर्यटन उद्योगलाई राज्यले प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो । “भ्रमण वर्षलाई सफल बनाउन व्यापक लगानी गरेको पर्यटन क्षेत्रलाई बचाउने गरी बजेट आउनुपर्छ”, उनले भने ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईँले पर्यटन व्यवसायीहरुको लगानीको संरक्षण गर्ने र शिथिल भइसकेको व्यवसायलाई पुनःजीवन दिएर पुनःस्थापना गर्ने सरकारको प्रमुख दायित्व भएको बताए । “कोरोना महामारीको सङ्क्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीलाई पुनःउत्थान गर्ने कुनै पनि ठोस योजना नीति तथा कार्यक्रममा समेट्न नसक्नु दुःखद् कुरा हो”, उनले भने ।

aecc

टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)का अध्यक्ष ईश्वर शर्माले सरकारले पर्यटन व्यवसायीको मागलाई सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दीर्घकालीन विशेष कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताए ।