उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न काठमाडौँ महानगरको सरकारसँग माग

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग माग गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निर्णयले यस्तो आग्रह गरेको हो ।

‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु ९नाका० बाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै कामपाले यस किसिमको आग्रह गरेको हो ।

प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखी पठाउने निर्णय बैठकमा भएको जानकारी दिए ।

त्यसैगरी लकडाउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामका लागि काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थानविन्दुमै कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउनुपर्ने पनि बैठकमा जारी विज्ञप्तिमा भनिएको छ ।

लकडाउनको उल्लङ्घन गरी अनुमति नलिई लुकीछिपी काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाई समेत कारवाही गर्न पनि माग गरिएको छ । क्वारेन्टिन व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम कामपा क्षेत्रमा आवश्यक सङ्ख्यामा क्वारेन्टिन सञ्चालन र व्यवस्थापन गर्न पनि माग गरिएको छ ।

अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीको कोरोना भाइरससम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डङ्गोलले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोगजस्ता सामाजिक समस्या देखापर्ने सम्भावना देखिएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ ।

नगरपालिका सिल गरेर कोरोना परीक्षण
यता, चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपाभित्र कोरोना सङ्क्रमित देखिएपछि जेठ ७ गते बिहानसम्मका लागि नपा सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको हो । चैत ७ गते बिहानसम्म विभिन्न जिल्लाबाट चन्द्रागिरिमा आएका कोही पनि व्यक्तिलाई प्रवेश गर्न दिइनेछैन भने घरभित्र भएका व्यक्तिलाई घरबाहिर निस्कन बन्देज गरिएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएपछि नगरपालिका सिल गरेर कोरोना परीक्षणको दायरा बढाइएको जानकारी दिए । “चैत ११ गते देशभर बन्दाबन्दी भएदेखि विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका एक हजार व्यक्तिको आरडिटी परीक्षण गर्न लागेका छौँ”, उनले भने । चन्द्रागिरि नगरपालिकाले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरिमा आएका व्यक्तिको लगत सङ्कलन गरिरहेको छ ।

चन्द्रागिरीले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पिसीआर र आरडिटी परिक्षण गर्दै आएको छ । हालसम्म चन्द्रागिरि नगरपालिकाले ५०० भन्दा धेरै व्यक्तिको पिसीआर र आरडिटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ । पछिल्लो समय बन्दाबन्दी शुरु भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका पाँच जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

चन्द्रागिरिले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्ने भएको छ । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले जनाएको छ । वाग्तमी प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । चन्द्रागिरिले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरीमा आएका व्यक्तिको जानकारी नगरपालिकालाई दिन आग्रहसमेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement