फर्किएका बेरोजगारहरुलाई रोजगारी योजना बनायौं, पहिला कृषिमा पछि उद्योगमाः सरकार

Advertisement

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई रोजगारी दिने योजनासहितको प्रतिवेदन तयार पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक लगानी तथा प्रवद्र्धन महाशाखा प्रमुख पुष्पराज शाहीको संयोजकत्वमा गठित कार्यदलले तत्काल, मध्यकाल र दीर्घकालीन लक्ष्यसहित रोजगारीको योजना बनाएको हो ।

कृषि मन्त्रालय, श्रम, अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा निजी क्षेत्रसहितका प्रतिनिधिले तयार पारेको अध्ययन प्रतिवेदन उद्योगमन्त्री लेखराज भट्टलाई बुझाइएको छ । प्रतिवेदनले तत्काल रोजगारी सिर्जना गर्न कृषि क्षेत्र नै उत्तम रहेको उल्लेख गरेको छ ।

कोभिड–१९ को संक्रमण विश्वभर फैलिएसँगै विदेशमा रहेका धेरै नेपालीको रोजगारी संकटमा परेको छ । सरकारी तथ्यांकअनुसार श्रम स्वीकृति लिएर करिब १५ लाख नेपाली वैदेशिक रोजगारीमा छन् । त्यसबाहेक भारतसहितका मुलुकमा करिब ४५ लाख नेपाली छन् ।

कोरोनाकै कारण तत्काल चार लाख श्रमिक नेपाल फर्किन सक्ने भनेर सरकारले नै भनिरहेको छ । त्यसलाई लक्ष्य गर्दै सरकारले रोजगारीको योजनासहितको अध्ययन तयार गरेको हो । अध्ययन प्रतिवेदनमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत ८० हजारलाई रोजगारी दिन सकिने उल्लेख छ । यसका लागि २ अर्ब २७ करोडको बजेट हुनुपर्ने जनाइएको छ । लघु, साना तथा मझौला उद्योगको स्तरोन्नति गरेर उत्पादनमूलक रोजगारीतर्फ लैजान सक्ने पनि बताइएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि आप्रवासी कामदारको रोजगारी सिर्जना र जीविकोपार्जनमा सुधार परियोजना सिफारिस गरिएको छ । उक्त परियोजना नयाँ हो । यो परियोजनाबाट करिब ४० हजारलाई रोजगारी दिन सकिनेछ । कार्यक्रमका लागि २ अर्ब ७ करोडको बजेट आवश्यक पर्ने र बजेट नेपाल सरकार वा दातृ निकायबाट जुटाउनुपर्ने अध्ययन प्रतिवेदनमा भनिएको छ ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजनबाट करिब ३० हजारलाई रोजगारी दिन सक्ने उल्लेख छ । हाल सञ्चालनमा रहिआएको उक्त परियोजनाको लक्ष्य र मोडालिटी भने हेरफेर गर्नुपर्ने जनाएको छ । उक्त परियोजनाका लागि २ करोड ३० लाख बजेट प्रस्तावको सुझाव छ । ‘मोडालिटी हेरेफेर गरेर प्रदेश १ र २ को कार्यक्षेत्र तोक्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement