कोरोनाले मृत्यु भयो भनिएका गुल्मीका शिक्षक जिवितै, भ्रामक समाचार बाहिर आयोः अस्पताल

Advertisement

रूपन्देही । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षक जिवित हुँदै मृत्युको गलत प्रचार गरिएको छ । उनको अवस्था गम्भीर रहे पनि मृत्यु नभएको भन्दै क्रिमसन अस्पतालले गलत हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

बुधबार मध्यान्ह विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको भन्दै विरामीको आइसियुमा भेन्टिलेटर सपोर्टका साथ उपचार भइरहेको जानकारी दिएको छ ।

विरामीको मृत्यु भएको भन्ने समाचारले जनमानसमा अनावश्यक त्रासको वातावरण सिर्जना भएको भन्दै अस्पतालले विज्ञप्तिमा गलत समाचारको पछि नलाग्न अपिल गरेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटर (कृतिम स्वासप्रश्वास)मा राखेर संक्रमित शिक्षकको उपचार गरिराखिएको र बचाउने प्रयास भइरहेको जनाएको छ ।

बैशाख २५ गतेदेखि नै सामान्य ज्वरो र खोकी देखिएका उनले स्थानीय मेडिकलमा उपचार गराउँदा सुधार नभएपछि अर्घाखाँची हुँदै जेठ १ गते देखि रूपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । उनमा जण्डिस देखिएको र मृगौलामा पनि समस्या देखिएको भन्दै अस्पतालले उनको शरीरका धेरै अंगले काम गर्न छोडेको जनाएको छ । भैरहवास्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार तीन शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

Advertisement

Advertisement