पुनर्कर्जा वितरणको जिम्मा बैंकहरुलाई नै दिने राष्ट्र बैंकको तयारी

,   ८ जेष्ठ २०७७, बिहीबार, ०८:३३ am   
Loan-nepal

काठमाडौँ । उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा सघाउने उद्देश्यले राष्ट्र बैंकले प्रदान गर्दै आएको सहुलियत दरको पुनर्कर्जा रकम सीधै बैंक तथा वित्तीय संस्थालाई परिचालन गर्न दिने तयारी भएको छ । यसका लागि राष्ट्र बैंकले आन्तरिक गृहकार्य थालेको छ । साना ऋणीलाई लक्ष्य गरी सहुलियत दरमा पुनर्कर्जा सुविधा प्रदान गर्ने गरी बैंक तथा वित्तीय संस्थाले सीधै रकम परिचालन गर्न पाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

साना ऋणीलाई सहुलियत दरको कर्जा सुविधा पुर्‍याउने उद्देश्यले उक्त व्यवस्था गर्ने गृहकार्य भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । ‘करिब ६५ देखि ७० प्रतिशत रकम सीधै बैंक तथा वित्तीय संस्थालाई रकम प्रदान गर्ने गरी छलफल भएको छ,’ उनले भने, ‘राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार मापदण्ड पूरा गरेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले सीधै कर्जा प्रवाह गर्छन् ।’ बाँकी रकम सरकारको निर्देशनअनुसार ठूला, रुग्ण, राष्ट्रिय गौरवका आयोजना तथा क्षेत्रमा राष्ट्र बैंक आफैंले प्रवाह गर्ने उनले बताए ।

हाल एउटा ऋणीले बढीमा ५० करोड रुपियाँसम्म पुनर्कर्जा सुविधा पाएका छन् । त्यसलाई घटाएर प्रतिऋणी बढीमा १० करोड रुपियाँसम्मको पुनर्कर्जा सुविधा दिने तयारी राष्ट्र बैंकले गरेको छ । दुई चार लाख रुपियाँ सापटी लिन चाहने सबै ऋणीलाई राष्ट्र बैंक आफैंले हेर्न कठिन छ,’ सिवाकोटीले भने, ‘कर्जाको मागअनुसार बैंकहरूलाई रकम प्रदान गरिन्छ । तोकिएको मापदण्डका आधारमा बैंकले कर्जा प्रदान गर्छन् ।’ वास्तविक ऋणीले मात्र पुनर्कर्जा सुविधा पाऊन्, सीमित व्यक्तिको पहुँचमा मात्र नहोस् भन्ने उद्देश्यले बैंकलाई दिने गरी कार्यविधि परिमार्जन भइरहेको उनले जानकारी दिए । ‘साना ऋणीलाई लक्ष्य गरी बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जा प्रवाह गर्नुपर्नेछ,’ स्रोतले भन्यो ।

aecc

कान्तिपुर दैनिकबाट ।