भारतबाट एकै दिनमा हजारौँ नेपाल भित्रदै, सुरक्षा निकाय दशगजामा अलपत्रलाई उद्धार गर्दै

,   ८ जेष्ठ २०७७, बिहीबार, १२:५१ pm   
darchula-border_block_corona

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।

भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै आज मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालिकोटका ४४ नागरिक रहेको छन् ।

उनले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिदै गरेको यस परिवेशमा प्रदेश सरकारले सबैको आरडिटी गर्ने यद्यपि स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरेका छन् । उनले भने, “यतिमात्र होइन भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ । सीमामा आरडिटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टिनमा बस्ने गरिएको छ ।

aecc

प्रदेश सरकारले तत्काल आरडिटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामजिक विकासमन्त्री दल रावलले जानकारी दिए । “त्यहाँ पुगेका सबैको आरडिटी परीक्षण गर्छौँ र पोजेटिभ देखिएमा प्रदेशको क्वारेन्टिनमा राख्छौँ । उनीहरुको पिसीआर गरेर सङ्क्रमण देखिएमा आइसोलेसनको पनि तयारी भइरहेको छ”, उनले भने ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतनिधि वाग्लेले अहिले तत्काल ७०० किटसहित १६ जना आरडिटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताए । आवश्यकतामा अन्य थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने उनले जनाए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिए । केही जनशक्ति सीमा निर्वाध रहेको र केही जनशक्ति यहाँबाट पठाइएको उनले बताए । यो डेढ साताभित्र प्रदेशमा १५–२० हजार नागरिक भित्रीसकेको अनुमान छ ।

दशगजामा अलपत्रलाई उद्धार गर्दै सुरक्षा निकाय
यसैगरी नेपाल–भारत दशगजा क्षेत्रमा भारतका विभिन्न स्थानबाट आइ अलपत्र परेका नेपालीहरुको उद्धारमा सुरक्षा निकाय खटिएका छन् । ती दुई सुरक्षा निकायले रातिको समयमा पनि स्थानीय तहसितको समन्वयमा सेवा गरिराखेका छन् । पछिल्लो समय कञ्चनपुरको माहाकाली नगरपालिकाबाट भारतका विभिन्न क्षेत्रबाट आएका नेपालीहरु अवैध रुपमा नेपाल प्रदेश गर्ने क्रम बढिरहेको छ ।

“बितेको एक हप्तामा करिब पाँच÷६ सयको हाराहारीमा नेपालीहरुलाई यहाँ ल्याएर स्वास्थ्य जाँच र क्वारेन्टिन राख्ने काम भयो ।” कोभिड–१९ कञ्चनपुरका सम्र्पक व्यक्ति सिद्धराज भट्टले भन्नुभयो–“आज मात्रै डेढ सय जना जतिको र्यापिट टेष्ट हुदैछ ।” उनले दोधारा चादँनी सीमा क्षेत्रमै पुगेर पीसीआर जाँचका लागि ९५ जनाको स्वाब लिइएको जानकारी दिए । “स्वाब लिएर धनगढी परीक्षणका लागि पठाउने काम हुदैछ ।” उनले भने–“३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले दोधारा चादँनीको सीमा क्षेत्रबाट २७८ जना नेपालीहरुको उद्धार गरी भीमदत्तनगरस्थित बैजनाथ स्कूलको क्वारेन्टिनमा राखिएको जानकारी दिए । “सीमामा फेरी एक सय जना भन्दा बढी जम्मा भइसकेको खबर आएको छ ।” उनले भने–“कोरोना परीक्षण गरेर सम्वन्धीत पालिका पठाउने काम हुन्छ ।”

यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमावर्ती भारतीय बजारको क्वारेन्टिनका ४५ दिन बसेका २४२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी ल्याएको थियो । उनीहरुलाई र्यापिट टेष्ट गरेर नेगेटिभ आएपछि सम्वन्धित गाउँपालिका पठाइएको थियो । दशगजामा अलपत्र यात्रुहरुलाई केही दिनयता माहाकाली नगरपालिकाले आवश्यक व्यवस्था गर्दै आएको छ ।

त्यसैगरी भीमदत्तनगरपालिकाले भारतबाट आउने नागरिकहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन यहाँका स्कूलहरुमा त्यसको प्रवन्ध मिलाइरहेको जनाएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले दशगजाभित्र आइसकेकाहरुलाई उद्धार गरी क्वारेन्टिनमा राख्ने विषयमा आफूहरु पहल गरिरहेको जानकारी दिए ।

“दशगजामै नागरिकहरु अलपत्र परेर भोकै बस्ने स्थिती आउन थालेपछि हामीले त्यहाँबाट क्रमिक रुपमा उद्धार गरी स्वास्थ्य परीक्षणपछि सम्वन्धीत पालिका पठाउने कुरामा समन्वय गरिरहेका छौं ।” उनले भने–“पछिल्लो समय दोधारा चादँनीदेखि ब्रह्मदेव क्षेत्रबाट आउने क्रम रोकिएको छैन ।” भीमदत्तनगरपालिकाले नगरपालिकाका १९ वटै वडाका सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउन गृहकार्य समेत गरिरहेको उनले बताए ।

“दशगजाबाट ल्याएर परीक्षण नहुँदासम्मका लागि क्वारेन्टिनमा राख्ने प्रवन्ध मिलाएका छौं ।” उनले भने–“भीमदत्तनगरपालिकाका बाहिरबाट आएका नागरिकहरुले पुर्ण रुपमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।” उनले क्वारेन्टिन व्यवस्थापन र खानपिनको व्यवस्थाका लागि नगरपालिका र वडा कार्यालयले आर्थिक व्यवस्थापन गरिरहेको बताए । “समस्या परेमा प्रदेश र संघ सरकारसित पनि गुहार माग्छौं ।” उनले भने–“अलपत्र नागरिकलाई सम्वन्धीत पालिकाले आ-आफ्नै क्षेत्रको क्वारेन्टिनमा राख्नु नै उत्तम विकल्प हुनेछ ।”

नेपालगञ्ज नाकाबाट भित्रिए एक हजार
यता, बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट बुधबार एक हजार ३२५ नेपाली भित्रिएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा लामो समयदेखि बस्दै आएका नेपालीलाई स्थानीय प्रशासनले नेपाल भित्र्याएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार आज भारतबाट नेपाल आएकामा कर्णाली प्रदेशका १० जिल्लाका तथा प्रदेश नं ५ का बाँके, बर्दिया, दाङ र प्युठानका एक हजार ३२५ जना छन् । सबैभन्दा धैरै दैलेखका ५०१ जना छन् । जमुनाह नाकाबाट नेपाल भित्रिएका नेपालीलाई आज बसमार्फत नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर लगत लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिए ।

उद्धार गरिएका व्यक्तिलाई लिन सम्बन्धित स्थानीय तहसँग गाडी माग गरिएको र यहाँबाट गएर सबैलाई आआफ्नो पालिकाले निर्माण गरेको क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्ने शर्तसहित पठाउन थालिएको उनले बताए । यसअघि यही जेठ २ गते एकैदिन भारतका विभिन्न क्वारेन्टिन तथा सीमाक्षेत्रमा बसेका ६८७ नेपालीलाई उद्धार गरी गृहजिल्ला पठाइएको थियो । बाँकेमा पछिल्लोपटक भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण बढी देखिएको छ । रासस