नेपालीको रेल सपना यसरी हुँदैछ साकार

Advertisement

सरकारले आगामी आर्थिक वर्षभित्र केरुङ–काठमाडौं रेलमार्ग र रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक निर्माण कार्य आरम्भ गर्ने घोषणा नीति तथा कार्यक्रम मार्फत गरेको छ । त्यस बाहेक काकडभिट्टा–इनरुवा खण्डको निर्माण पनि अघि बढाउने भनेको छ । आन्तरिक रेल वे नेटवर्क, मेट्रो र अन्तरदेशिय रेलमार्गहरुका काम कुनै न कुनै रुपले अघि बढिरहेकै छन् ।

तिमध्ये पनि सबै भन्दा महत्व पूर्व–पश्चिम रेलवे अर्थात मेची महाकाली विद्युतिय रेलमार्गले पाईरहेको छ । यसको लम्बाई अहिले ९४५ किलोमिटर छ तर चितवन राष्ट्रिय निकुञ्ज छल्ने प्रयास गर्दा झन ६ किलोमिटर घट्ने सम्भावना छ । यसको चितवन निकुञ्ज बाहेकको डीपीआर तयार छ । भारतीय सिमा जोड्ने गरि पाँचच ठाउँमा क्रस बोर्डर रेलवे लाइन निर्माण गर्ने सम्झौता भएको छ भने रक्सौल–काठमाडौंको अर्काे एउटा लाइनको अध्ययन पनि अघि बढिरहेको छ ।

मेची महाकाली रेलवेलाई गड्डाचौकी–महादेवपुर–बुटवल–तम्सरिया–माडी–सिमरा–चन्द्रनिगाहपुर–लाहान–काकडभिट्टाका लाइनमा विभाजित गरेर अघि बढाइएको छ । काठमाडौंमा मेट्रो रेल र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययन पनि भैरहेको छ ।

कस्तो छ बजेट ?
सरकारले चालु आर्थिक वर्षमा रेल विभागका लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि विभागले २० अर्ब रुपैयाँको बजेट बनाएर मन्त्रालय पठाएको छ । कति बजेट आउँछ त्यो भने जेष्ठ १५ गते मात्रै जानकारी हुनेछ ।

यी ठाउँमा भैरहेको छ काम
मेची–महाकाली विद्युतिय रेलमार्गः ९४५ किलोमिटर
केरुङ–काठमाडौं रेलमार्गः ७२.२ किलोमिटर
रक्सौल–काठमाडौं रेलवेः १३५ किलोमिटर
काठमाडौं उपत्यका मेट्रो रेलः ७७ किलोमिटर
काठमाडौं–पोखरा–लुम्बिनी रेलवे
नेपाल–भारत क्रस बोर्डर रेलवे
जनकपुर–जयनगरमा गुड्ने डेमु रेल खरिद प्रक्रिया

मेची–महाकाली विद्युतिय रेलवे
यसको बर्दिबासदेखि निजगढसम्मको ७० किलोमिटर खण्डमा यतिबेला धमाधम काम भैरहेको छ । ३३.५ किलोमिटर ट्रयाक वेड र २ वटा पुल निर्माण भैसकेका छन् भने ८ वटा पुलको काम जारी छ । ३६.५ किलोमिटर ट्रयाकवेड र १४ वटा पुलहरुको निर्माण कार्य जारी छ ।

सिमरा–बर्दिवासको ईआईए स्वीकृत भैसकेको छ भने २६ किलोमिर जग्गा अधिग्रहण र २० किलोमिटरको वन व्यवस्थापन पनि भैसकेको छ । १६.५ किलोमिटर वन र ७.५ किलोमिटर जग्गा अधिग्रहणको काम जारी छ । बर्दिबासदेखि निजगढसम्मको ७० किलोमिटर खण्डको ट्रयाकबेड र पुलको ठेक्का लगाईसकिएको छ ।
मेची–महाकालीको इनरुवा–काकडभिट्टा खण्डको निर्माण अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा पनि समेटिएको छ । १०६.६ किलोमिटर लामो यो खण्डको जग्गा अधिग्रहणको काम अघि बढेको छ । यसमा ८० वटा पुल पर्छन् ।

केरुङ–काठमाडौं रेलवे
यसको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भैसकेको छ । विस्तृत अध्ययनका लागि पनि दुई देशबीच सम्झौता भैसकेको छ । हामीले डीपीआर भन्ने त्यो अध्ययनलाई चिनियाँहरुको भाषामा त्यसलाई विस्तृत सम्भाव्यता अध्ययन भनिन्छ । कोरोनाको संक्रमण रोकिने वित्तिकै त्यो अध्ययन अघि बढ्छ । करिब ७२.२ किलोमिटर लामो यो रेलको लागत २ खर्ब ९३ अर्ब ३० करोड रुपैँया । ९८.८ प्रतिशत खण्ड सुरुङ र अग्ला पुलहरुमा निर्माण हुन्छ ।

[caption id="attachment_181503" align="aligncenter" width="714"] रेल विभागका महानिर्देशक मिश्र[/caption]

यसलाई विश्वकै कठिन भूगोलमा निर्माण हुने रेलमार्ग मानिएको छ । यसमा २.७ किलोमिटर पुल र ६८.६ किलोमिटर खण्ड सुरुङमा रहन्छ । रसुवागढीबाट काठमाडौं आईपुग्दा ४ वटा स्टेशन प्रस्ताव गरिएको छ । यसको काठमाडौं स्टेशन टोखामा रहनेछ । त्यस बाहेक रसुवागढी, स्याफ्रुबेसी, बिदुरमा स्टेशन हुन्छन् । यो रेल प्रति घण्टा १२५ किलोमिटर दौडने गरि डिजाइन हुनेछ ।

रक्सौल–काठमाडौं रेल वे
भारतको रक्सौलबाट सुरु भएर काठमाडौंको चोभारमा टुंगीने यो रेलमार्गको लम्बाई १३५.८८६ किलोमिटर हुनेछ । यसको प्रारम्भिक ट्राफिक सर्भे(प्रिलिमिनेरी कम ट्राफिक सर्भे) सम्पन्न भैसकेको छ । भारतीयहरुले ब्रोड जेग प्रस्ताव गरेका छन्, हामीले विद्युतिय बनाउनुपर्छ भनेका छौं । चीनबाट आउने रेल टोखामा र भारतबाट आउने रेल चोभारमा मात्रै किन भन्ने प्रश्न पनि उठ्न सक्छ । तर यो दुई लाइनलाई जोड्ने कसरी भनेर हामीले अहिलेसम्म निचोड निकालेका छैनौं ।

यो रेल प्रति घण्टा १२० किलोमिटर दौडने गरि डिजाइन हुन्छ । यो रेल रक्सौल जितपुर, निजगढ, शिखरपुर, सिस्नेरी, सतिखेल हुँदै काठमाडौंको चोभारमा आउँछ । यस बीचमा १३ स्टेशन निर्माण हुनेछन् । ८ सय ९२ हेक्टर जमिन आवश्यक पर्नेछ । ४१ वटा पुल र ४१.८७ किलोमिटर लामो ३९ वटा सुरुङ निर्माण हुनेछन् । यसको अनुमानित लागत २ खर्ब ६४ अर्ब रुपैयाँ छ । भारत सरकारले डीपीआरका लागि बजेट विनियोजन गरिसकेको छ । केहि समय भित्रै काम थालिन्छ । यसको स्टेशन काठमाडौं, सिस्नेरी, शिखरपुर, धियाँल, चन्द्रनिगाहपुर, निजगढ, टाँडी, धरमरवा हुँदै बिरगञ्ज पुग्छ ।

काठमाडौं मेट्रो रेल
रेल विभागले काठमाडौंमा मेट्रोको काम पनि अघि बढाउने सोँच बनाएका छौं । काठमाडौंमा ७७.२८ किलोमिटर लामो मेट्रो रेलको प्रारम्भिक अध्ययन भैसकेको थियो । यसमा पाँच वटा लाइन प्रस्तावित थिए । पहिलो लाइन सातदोबाटोबाट रत्नपार्क हुँदै नारायणगोपाल चोकसम्मको १२.१० किलोमिटर लामो थियो । यसको विस्तृत इञ्जिनियरिङ सर्भेका लागि परामर्श दाता नियुक्त गरिसकेका छौं ।

दोश्रो लाइनका रुपमा किर्तिपुर–कालीमाटी–बानेश्वर–एयरपोर्टको ११.१५ किलोमिटर छ । तेश्रो लाइनका रुपमा कोटेश्वर–स्वयम्भु–चावहिल–कोटेश्वर अर्थात रिङरोडको २८.५३ किलोमिटर खण्ड छ । चौथोमा स्वयम्भु–डिल्ली बजार–वौद्धको ११.७० किलोमिटर छ । पाँचौं लाइनका रुपमा धोबिघाट–सिंहदरबार–नक्साल हुँदै गोंगम्बु जाने १३.८ किलोमिटरको रुट छ ।

यीमध्ये पहिलो, दोश्रो र तेश्रो लाइनलाई एलेभेटिड बनाउने भनिएको छ भने चौथो र पाँचौं लाइनलाई अण्डरग्राउण्ड गर्ने भनिएको छ । यी मेट्रोहरु प्रति घण्टा ६० किलोमिटरका दरले गुद्न सक्छन् । संसारका अरु देशमा १० लाख मानिस भएपछि मेट्रोको अवधारणामा जान्छन् । हामी भने ४० लाखको आवादी भएको काठमाडौंमा भर्खर मेट्रोको कुरा गरिरहेका छौं ।

रेलले वायु प्रदुषण पनि रोक्न सघाउँछ । रेलमा थोरै दुर्घटना, थोरै प्रदुषण, थोरै समयको यात्रा, यात्राको गुणस्तर बढाउने, देशको इमजे पनि बढाउने, पर्यटकलाई पनि आकर्षित गराउने देखिन्छ ।  सातदोबाटो, रत्नपार्क, महाराजगञ्ज खण्डको डीपीआरको काम अघि बढिसकेको छ । लगानी बोर्डले पनि नागढुंगा कलंकी कोटेश्वर धुलिखेलका लागि डीपीआर बनाउने काम अघि बढाइसकेको छ । सन २०१२ को अध्ययन अनुसार काठमाडौं मेट्रोको लागत ३ खर्ब ३० अर्ब देखिन्छ ।

नेपाल–भारत क्रस बोर्डर रेल वे
नेपाल र भारतका बीचमा पाँच ठाउँमा क्रस बोर्डर रेलवे लाइन निर्माणको समझदारी भएको थियो । सोही अनुसार अहिले जनकपुर–जयनगर रेलवे निर्माण सम्पन्न गरेर सञ्चालनको तयारी भैरहेको छ । जयनगर–जनकपुर–बर्दिबासको ६९ किलोमिटरमध्ये धेरै काम सम्पन्नै भैसकेको छ । जयनगर जनकपुरमा त हामी रेल चलाउने अन्तिम तयारीमै पुगिसकेका छौं । त्यस बाहेक जलपाईगुडी–काकडभिट्टा रेल वे लाइन ४६.३० किलोमिटरलाई डेडिकेटिड बनाउने भनिएको छ ।

जोगबनी–बिराटनगरको १८.६० किलोमिटरमध्ये १० किलोमिटर निर्माणको काम सम्पन्न भैसकेको छ । बाँकी काम पनि धमाधम अघि बढिरहेको छ । त्यसलाई इटहरीसम्म विस्तार गर्ने योजना पनि बनिरहेको छ । नौतनवा–भैरहवामा पनि १५.३० किलोमिटरको रेलवे बनाउने भन्ने छ । नेपालगञ्ज रोड देखि नेपालगञ्जसम्मको १२.१० किलोमिटर रेल बनाउने भनिएको छ । त्यसको पनि अध्ययन जारी छ ।

काठमाडौं–पोखरा–लुम्बिनी
चीन सरकारसँगको सहकार्यमा काठमाडौं पोखरा र काठमाडौं कुरिनटार लुम्बिनी रेलवे बनाउने भन्ने छ । त्यसमा काठमाडौं पोखराको दुरी १६४.४६ किलोमिटर छ । यसको लागत अनुमानित ३ खर्ब ८५ अर्ब छ । करिनटार देखि लुम्बिनीसम्मको १५७.६६ किलोमिटर लामो दुरीमा रेलमार्ग बनाउन ३ खर्ब १३ अर्ब लाग्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।

जनकपुरमा कहिले आउँछ रेल ?
कर्था–जनकपुर–जयनगर–बिजलपुरामा गुडाउन २ वटा डेमु रेल किन्ने सहमति भएर रेल पनि तयार भैसकेको छ । एउटा ट्रेनमा ५ वटा कार हुन्छन् । त्यसमा एउटा चाँही एसी कोच पनि रहन्छ । एक हजार २ सय देखि एक हजार ३ सय जनासम्म यात्री बोक्न सक्छन् । यी रेलहरु भारतको सोनपुरमा आएर पार्किङ गरेर राखिएका छन् । बोर्डरबाट ४ घण्टाकै दुरीमा छन् । लकडाउनका कारण नेपाल ल्याउन नपाईएको हो । असार अगावै रेल गुडाउने सोँच थियो तर केहि समय पर धकेलिने अवस्था देखिँदैछ । रेल विभागले पूर्वाधार बनाउने र नेपाल रेल वे कम्पनी मार्फत रेल सञ्चालन गर्ने तयारी भैरहेको छ । कर्मचारी र दरबन्दी स्वीकृत भएर भर्ना प्रक्रिया अघि बढिसकेको छ ।

समस्या
इआइएमा वन मन्त्रालयले खासै सहयोग गरिरहेको छैन् । जग्गाको मुआब्जामा नागरिकको चित्त बुझाउन सकिएको छैन् । ऐलानी जग्गाको मुआब्जा पनि चुनौतीका रुपमा देखिएको छ । रेलवेको जनशक्तिको कमी पनि छ । त्यस बाहेक खोलाजन्य निर्माण सामग्रीको पनि अभाव छ । (सोसाइटी अफ ट्रान्सपोर्ट इञ्जिनियरर्स, नेपाल–सोटेनले आयोजना गरेको वेविनारमा रेल विभागका महानिर्देशक मिश्रले प्रस्तुत गरेको कार्यपत्रको सम्पादित अंश)

Advertisement

Advertisement

Advertisement