पुँजी बजारका लगानीकर्ताले पनि मागे २० बुँदे राहत प्याकेज

Advertisement

काठमाडौं । पुँजी बजारका लगानीकर्ताले २० बुँदे राहत प्याकेज माग गरेका छन् । धितोपत्र बोर्डका अध्यक्षलाई पत्र लेख्दै लगानीकर्ताहरुका चार वटा संगठनका नेताहरुले संयुक्त ज्ञापन पत्र बुझाएर राहत प्याकेज माग गरेका हुन् । उनीहरुले संसारका अधिकांश देशका पुँजी बजारलाई राहत प्याकेज उपलब्ध गराईएको माग गर्दै नेपालमा पनि त्यस्तो प्याकेज तत्काल ल्याउन भनेका हुन् ।

लगानीकर्ताहरुले आगामी आर्थिक वर्षको बजेट मार्फत पनि पुँजी बजारका लागि तत्कालिन राहत र दिगो विकासका केहि महत्वपूर्ण एजेण्डा सम्बोधन गराउन बोर्डले नेतृत्वदायी भूमिका खेल्नुपर्ने पनि बताएका छन् । सेयर लगानीकर्ता संघ, नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलका अनुसार बोर्डका अध्यक्ष भिष्म ढुंगानाले आगामी बजेट मार्फत लगानीकर्ताका माग पुरा गराउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यस्ता छन् लगानीकर्ताहरुको माग
महामारीको रूपमा फैलिएको कोरोना (कोभिड-१९) को असर विश्वभरिनै फैलिएको र मानवता विरूध्द द्रुत गतिमा आक्रमण गरिरहेको छ। विश्वमा विभिन्न देशहरूले आफ्नो अर्थतन्त्र जोगाउनका लागि विभिन्न राहतका कार्यक्रमहरू घोषणा गरिरहेका छन। नेपालमा पनि नियामक निकायहरू बाट विभिन्न राहतका कार्यक्रमहरू घोषणा भएका छन।

नेपालको सन्दर्भमा शेयर कारोवार लाई नै मुख्य पेशा बनाई यसै मार्फत राष्ट्रिय पुँजि निर्माणमा योगदान दिई आईरहेका हामि आम लगानिकर्ताहरू तथा प्रत्यक्ष रूपमा करिव ४५ अर्व शेयर धितो कर्जा विभिन्न बैंक तथा वित्तिय संस्थाहरूले लगानि गरिरहेको सन्दर्भमा “शेयर वजार” लाई पनि प्राथमिकता दिनु पर्ने अनिवार्य आवश्यकता भएको छ। जनताको धरौटिको रूपमा रहेको निक्षेप बाट वित्तिय संस्थाहरूले प्रवाह गरेको शेयर कर्जा संकटमा परेमा सो संकट जनताको नासोको रूपमा रहेको निक्षेपमा प्रत्यक्ष असर पर्ने निश्चित छ।

सबै भन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्ने मानविय स्वभाव भएको र विभिन्न देशको हालको अवस्थाले शेयर वजारलाई चलायमान बनाउन नसकिने अवस्था छ।यस्तो अनिश्चितता र अन्यौल ग्रस्त अवस्थाको शेयर वजारलाई सबैभन्दा ठुलो राहत भनेकै मनोवैज्ञानिक सकारात्मक भावना सिर्जना गर्नु नै हो । त्यसमा पनि राज्यलाई पुँजिवजारले पुँजि एकिकृत गर्न मात्र नभई पुँजिवजार सम्बन्धि गरिने निर्णय र परिवर्तनले आम लगानिकर्ताहरूमा प्रत्यक्ष प्रभाव पर्ने हुँदा यस क्षेत्रमा गरिने सकारात्मक निर्णयले देशको सम्पूर्ण अर्थतन्त्रमा धेरै राम्रो प्रभाव पारेको विगतको उदाहरण छ।यस अर्थमा आ.व. २०७७/७८ को बजेटमा पुँजिवजारको विकास र विस्तारका लागि सकारात्मक सम्वोधन हुनु र त्यसको सफल कार्यान्वयन हुनु अत्यन्त आवश्यक छ ।


अर्थतन्त्रको मेरूदण्ड र आर्थिक ऐनाको रूपमा विश्वले हेरिने पारदर्शी रूपमा कारोवार गरिने शेयर वजारलाई बिना सुधार यथास्थितिमा खोल्दा पुँजिबजारमा करिव १७ लाख डिम्याटमा आवध्द शेयर लगानिकर्ताहरूको सम्पत्ति ठुलो मात्रामा गुम्न सक्ने अनुमान गर्न सकिन्छ। त्यसैले सरोकारवाला पक्षहरू संग समन्वय गरि नितिगत सुधार तथा राहतको तत्काल घोषणा गर्न हामि जोडदार अनुरोध गर्दछौं।

सम्वोधन गर्नुपर्ने बुँदाहरू:

१) नेपालको पुँजिवजारलाई अत्याधुनिक प्रविधि मैत्रि बनाउन पुर्ण स्वचालित अनलाईन प्रणालिको तत्काल कार्यान्वयन गर्ने ।
२) नेपाल धितोपत्र वोर्ड द्वारा लकडाउन अवधिमा जारी गरिएको धितोपत्र सन्चालन सम्वन्धि कतिपय बुँदाहरू व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउन वाधा भएकोले त्यस्ता बुँदाहरूलाई सहज हुनेगरी परिमार्जन गरिनु पर्ने ।
३) डिम्याट र बैंक ईन्ट्रिगेशन सम्बन्धि कार्य गरिनुपर्ने ।
४) शेयर वजारमा नेपाल सरकारले यो भन्दा अगाडिनै निर्णय गरि सकिएको ठुलो मात्रामा लगानि गर्न सक्ने संस्था नागरिक लगानि कोष लाई यथासिघ्र वजारमा प्रवेश गराउनु पर्ने ।
५) हाल शेयर मार्जिन कर्जामा उपभोग गरिंदै आएको ६५% को सिमालाई बढाई ८०% कायम गर्ने र Weighted Average गणना गरिने प्रकृया १८० दिनको सट्टामा १२० दिन कायम गरिनु पर्ने ।
६) शेयर कर्जा लिएका ऋणिहरूको कर्जाको म्याद समाप्त भएको भए स्वत: नविकरण गरि मार्जिन कल नगर्ने व्यवस्था गर्ने ।
७) हाल प्रचलनमा रहेको क्रस होल्ड नहुने गरि शेयर खरिद गर्न पाउने बैंक तथा वित्तीय संस्था र ईन्स्युरेन्स कम्पनीहरूको लगानि गर्न पाउने सिमा सत प्रतिशत बृध्दि गरिनु पर्ने ।
८) बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने शेयर धितो कर्जाको प्राथमिक पुँजिकोषको सिमा सत प्रतिशत बृध्दि गरिनुपर्ने ।
९) म्युचुअल फण्डहरूले शेयर बजारमा लगानि गर्नुपर्ने सिमा अनिवार्य व्यवस्था गरिनुपर्ने र उक्त फण्डहरूलाई दिईँदै आएको आरक्षण वापत छुट्याईएको शेयरमा कम्तिमा ३ वर्षको लकिंग पिरियड राखिनुपर्ने ।
१०) पुँजिवजारको विकास र विस्तारका लागि लगानिकर्ताहरू संग सरकारले गरेको ५८ बुँदे सहमतिमा उल्लेख भएका बुँदाहरू मध्ये कार्यान्वयनमा आउन बाँकि बुँदाहरू तत्काल कार्यान्वयन गरिनुपर्ने ।
११) शेयर वजार सम्वन्धमा कुनै पनि निर्णय गर्दा लगानिकर्ताहरूका प्रतिनिधिहरू समेतको प्रतिनिधित्व हुने व्यवस्था गरिनुपर्ने ।
१२) हाल प्रचलनमा रहेको ५% लाभकरलाई अन्तिम लाभकर घोषणा गरिनुपर्ने ।
१३) शेयर वजारका लगानिकर्ताहरूलाई अल्पकालिन र दीर्घकालीन श्रेणीमा वर्गीकरण गरी दीर्घकालीन लगानिकर्ताहरूलाई पुँजिगत लाभकर छुटको व्यवस्था गरिनुपर्ने र संस्थागत लगानिकर्ताहरूलाई पुँजिवजारमा थप आकर्षित गर्न संस्थागत पुँजिगत लाभकर समेत कम गर्नुपर्ने ।
१४) बैंक तथा वित्तीय संस्था,नागरिक लगानि कोष,कर्मचारी संचय कोष,नेपाल टेलिकम,विमा कम्पनी,पेन्सन फण्ड तथा सामाजिक सुरक्षा कोष लगायतका कम्पनिहरूलाई दोश्रो वजारमा लगानि गर्न आवश्यक र आकर्षक वातावरण बनाई लगानि गर्न लगाउने ।
१५) गैर आवासिय नेपालीहरू तथा विदेशमा रोजगारीमा गएका नेपालीहरूले शेयर कारोवार गर्न पाउने विश्वव्यापी प्रचलन अनुरूप नेपालमा पनि २०६५ साल देखि धितोपत्र वोर्ड समेतको कार्य सुचिमा रहेको विषय हालसम्म पनि कार्यान्वयन नभएको/नगराईएकोले तत्काल कार्यान्वयन गर्नुपर्ने ।
१६) हाल संचालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको करिव ३ हजार शाखाहरू मार्फत शेयर कारोवार गराउने गरी वाणिज्य बैंकका सहायक कम्पनिहरूलाई ब्रोकर लाईसेन्स तत्काल उपलब्ध गराउनुपर्ने ।
१७) मर्जर वा एक्विजिसन गर्दा लाग्ने समयको स्पष्ट निर्धारण गर्ने र सकेसम्म शेयर कारोवार नरोक्ने,तर रोक्नै परेमा बढिमा ४५ दिनको सिमा निर्धारण गर्ने ।
१८) स्टक एक्सचेंजमा कारोवार हुने कम्पनिहरूले निश्चित सर्त र सिमाको अधिनमा रहि आफ्नो कम्पनिको शेयर आफैले खरिद गर्न पाउने व्यवस्था गर्ने ।
१९) हाल विधमान नियममा रहेको वोनसमा लाग्दै आएको दोहोरो पुँजिगत लाभकरको व्यवस्था तुरून्तै खारेज गरिनुपर्ने ।
२०) पुँजिवजारमा एकद्वार प्रणालि (One door policy) अवलम्बन गर्दै यो क्षेत्रको विकास र विस्तारको लागि पंचवर्षीय योजना सार्वजनिक गरिनुपर्ने ।

यि माथिका बुँदाहरू क्रमश: सम्वोधन भै कार्यान्वयनमा ल्याउँदा शेयर वजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकाश हुने र सरकार,धितोपत्र वोर्ड,नेपाल स्टक एक्सचेंज,सिडिएससि,मर्चेंट बैंकर,ब्रोकर सहित सम्पूर्ण लगानिकर्ताहरूको आयमा बृध्दि हुनुका साथै विश्वासिलो र भरपर्दो लगानि गन्तव्यको क्षेत्रको रूपमा स्थापना गर्न सक्षम र सफल हुने छौं भन्ने हामि आम लगानिकर्ताको धारणा रहनुका साथै सो कार्यले हालको असहज परिस्थिति बाट गुज्रिरहेको शेयर बजारलाई संजिवनी बुटि सरहको काम गर्नेमा कसैको दुईमत रहने छैन ।
धन्यवाद,जय पुँजिवजार !

Advertisement

Advertisement

Advertisement