दाङमा थप एकमा कोरोना संक्रमण, कूल संक्रमित ४५४ पुगे

Advertisement

काठमाडौँ । कोभिड –१९ को संक्रमण दाङका एक जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आज पिसिआर परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएको बताए ।

संक्रमित घोराही उपमहानगरपालिका वडा नंं ३ का ३७ वर्षीय पुरुष हुन् । यसअघि आज मात्रै २६ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म संक्रमित ४५४ जना पुगेका छन् । कोभिड –१९ को संक्रमणबाट नेपालमा आजसम्म तीन जनाको मृत्यु भएको छ । संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

घोराही–कोरोना संक्रमण पुष्टि भएका पुरूष घोराही उपमहानगरपालिकाले सञ्चालन गरेको कुइरेपानी क्वारेन्टाइनमा छन् । उनी यही जेठ ५ गते भारतको दिल्लीबाट आएको नगरप्रमुख नरूलाल चौधरीले जानकारी दिए । “कोरोना संक्रमण देखिएका व्यक्ति भारतको दिल्लीबाट आएको भन्ने सूचना पाएका छौंँ, उनको सम्पर्कमा रहेकाहरुको खोजी गर्ने काम शुरु भएको छ”, नगरप्रमुख चौधरीले भने ।

संक्रमितसँगै क्वारेन्टिनमा पाँच जना आएका थिए । ती पुरूषमा कोरोना संक्रमण देखिएसँगै कुइरेपानीको क्वारेन्टिन बन्द गरिएको छ । यससँगै दाङमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का दुई पुरूषमा कोरोना पुष्टि भएको थियो । उनीहरूको अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement