नेपालगञ्जका २१ जना कोरोना भाइरसलाई पराजीत गरी घर फर्किए

Advertisement

राँझा । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा मात्रै नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए । उनका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको थियो । अन्य २० जनाको भने दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना पराजित गरेका २१ जनालाई आज नै स्वास्थ्य परामर्शपछि घर पठाइएको छ ।

सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितलाई राखी उपचार गराइएको हो । अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको उनको भनाइ छ । नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो । हाल सङ्क्रमित १०१ पुगेका छन् ।

यी २१ जना सहित उपचार पछि घर फर्कनेको संख्या ७० पुगेको छ भने ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमितको कूल संख्या भने ४८७ पुगेको छ ।

थप दुईमा सङ्क्रमण
बाँकेमा बिहीबार सङ्क्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए । नेपालमा आएलगत्तै क्वारेन्टिनमा रहेका खजुरा गाउँपालिका वडा नं ३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका वडा नं ३ का ३२ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर प्रयोगशालामा गरिएको स्वाब नमूना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । रासस

Advertisement

Advertisement

Advertisement