कोरोनाको कहरः महिलालाई परिवार नियोजनका साधन पाउनै सकस, अनिच्छित गर्भाधारण बढ्ने

Advertisement

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष यूएनएफपीएले कोरोनाभाइरस महामारीका कारण सम्भवत: महिलाहरूले परिवार नियोजनका साधनमा पहुँच नपाउने र अनिच्छित गर्भाधारण बढ्ने चेतावनी दिएको छ । यूएनएफपीएको एउटा प्रतिवेदनमा भनिएको छ, ‘मध्यम र न्यून आय भएका ११४ देशका चार करोड ७० लाख महिलाहरूले आधुनिक परिवार नियोजनका साधनमा पहुँच नपाउन सक्छन् ।’

‘यदि ६ महिनासम्म लकडाउन भयो भने ७० लाख महिलाहरू अनिच्छामै गर्भवती बन्नेछन् र स्वास्थ्य सेवामा ठूलो व्यवधान आउनेछ।’ हरेक तीन महिना लम्बिने लकडाउनले थप २० लाख महिलाहरू आधुनिक परिवार नियोजनका साधनबाट वञ्चित हुनेछन्। यसले विशेषगरी फिलिपिन्सजस्तो गर्भपतन अवैध भएको र परिवार नियोजनका साधनहरूका लागि महिलाहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू तथा परिवार नियोजन सम्बन्धी कार्यक्रमहरूमा भर पर्ने स्थानमा चिन्ता बढाएको छ ।

‘कोभिड–१९ का कारण फिलिपिन्समा १२ लाख महिलाहरूले अनिच्छामै गर्भधारण गर्नुपर्ने हुनसक्छ,’ फिलिपिन्सस्थित संयुक्त राष्ट्रसङ्घीय समूहका प्रतिनिधि डा। जोसेफ माइकल सिंहले भने । यो एकदमै खराब अवस्थाको चित्रण हो। त्यहाँ कोरोनाभाइरस महामारीका कारण प्रमुख परिवार नियोजनका सेवामा ५० प्रतिशतले कमी आएको छ । अनिच्छित गर्भाधारणसँगै नर्स, सुसारे र आकस्मिक सेवाको कमीका कारण अधिक मातृमृत्युदर हुनसक्ने समूहले चेतावनी दिएको छ।

मौज्दातमा कमी
एउटा गैरसरकारकी समूह रूट्स अफ हेल्थकी प्रमुखले कण्डोम सहित विभिन्न खाले परिवार नियोजनका अस्थायी साधनहरूको मौज्दात कम भएको बताइन् । फिलिपिन्सका कतिपय दुर्गम र ग्रामिण क्षेत्रहरूमा उनको संस्थाले सित्तैमा प्रजनन् स्वस्थ्य सेवा प्रदान गर्ने गर्छ।

तर ढुवानी सेवा र उडानहरूमा आएको कमीका कारण अहिले उनीहरूको आपूर्तिमा कमी आएको छ। सरकारको राष्ट्रिय परिवार नियोजन कार्यक्रमले बीबीसीलाई आफूहरूसँग आवश्यक अस्थायी साधनहरू रहेको तर सबै प्रदेशहरूमा पुर्‍याउन समस्या भएको बताएको छ।

ूहामीलाई भेट्नका लागि एकजना महिलाले १० किलोमिटर हिड्नुपर्‍यो र हरेक पटक आउँदा चेकप्वाइन्टहरूमा किन उनी यहाँसम्म आउनु पर्‍यो भन्ने जानकारी दिनुपर्‍यो,ू पालावान प्रान्तको सहरी स्वास्थ्य कार्यालयमा कार्यरत एनालिजा हेरेराले भनिन् । पालावानसहित फिलिपिन्सका केही क्षेत्रहरूमा लकडाउनका बेला एक परिवारलाई एउटा मात्र क्वारन्टीन पास दिइएको छ।

त्यो पासकै आधारमा महिलाहरूले परिवार नियोजन सेवा लिन पाउँछन् भन्ने निश्चित नभएको बताइन्छ । आफ्नो श्रीमान्‌लाई थाहा नदिइकन परिवार नियोजनका साधन प्रयोग गर्नेहरूका लागि त त्यो झन् त्यसले केही काम गर्दैन ।

यद्यपि पालावानलगायत केही क्षेत्रमा लकडाउन केही खुकुलो पारिएको छ र थोरै क्षमतामा सामाजिक दूरी कामय गरेर सार्वजनिक यातायात चल्न दिइएको छ । पालावान प्रदेशमा देशकै सबैभन्दा बढी किशोरी उमेरमै गर्भवती हुने समस्या रहेको छ । महामारी पहिले पनि त्यहाँका महिलाहरूले बन्ध्याकरणका साधनहरूमा पहुँच पाउन सङ्घर्ष गर्नुपर्थ्यो ।

सन् २०१७ मा गरिएको राष्ट्रिय सर्वेक्षणका अनुसार विवाहपूर्व यौन सम्बन्ध कामय गर्ने ४९ प्रतिशत महिलाहरूले कुनै पनि प्रकारको अस्थायी साधन प्रयोग नगर्ने गरेको देखाएको थियो । त्यस्तै आमा बन्न नचाहने १७ प्रतिशत महिलाहरूले पनि अस्थायी साधन प्रयोग नगर्ने गरेको बताएका थिए ।

फिलिपिन्समा यस्ता साधनहरूको प्रयोगले हुने हानिलाई लिएर गलत सन्देश पाएकाले महिलाहरू परिवार नियोजनका साधन प्रयोगमा निरुत्साहित हुनु त्यसको मुख्य कारण भएको बताइन्छ । (बीबीसी नेपालीबाट)

Advertisement

Advertisement

Advertisement