बूढानीलकण्ठमा २१ र कागेश्वरीमा २३ जनामा आरडिटी पोजेटिभ, शङ्खरापुर ‘सिल’

Advertisement

काठमाडौँ । बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी, जनप्रतिनिधि र फोहोरमैला व्यवस्थापनमा संलग्नको पहिलो चरणमा आरडिटी गरिएको हो ।

आरडिटी पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको वडा नं ७ स्थित एकल महिला छहारी भवनको क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । आरडिटी पोजेटिभ देखिएकामध्ये १५ जना पुरुष र छ महिला छन् । आरडिटी पोजेटिभ देखिएकामध्ये २० जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइसकिएको नगरपालिकाले जनाएको छ ।

आरडिटीले नै पूर्ण कोरोना संक्रमण भएको यकिन गर्न नहुने र विश्वस्तताका लागि आरटीपिसिआर नै गर्नुपर्ने भएकाले आरडिटी गरी पोजेटिभ आएकालाई नआत्तिन, धैर्य गर्न र आत्मबल बलियो बनाउन नगर प्रमुख उद्धवप्रसाद खरेलले आग्रह गरे ।

कागेश्वरीमा २३ को आरडिटी पोजेटिभ
यता, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडिटीमा पोजेटिभ देखिएका २३ जनाको पिसिआर भने नेगेटिभ आएको छ । नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी व्यवसायी र मासु पसले गरी करीब २०० जनाको सोमबार गरिएको आरडिटीको प्रतिवेदनमा पोजेटिभ देखिएको थियो । आलापोट स्वास्थ्यचौकीमा भने १७५ जनामा गरिएको आरडिटीमा २१ जनालाई पोजेटिभ देखिएको कार्यालय प्रमुख जगत नेपालीले जानकारी दिए ।

आरडिटीमा पोजेटिभ देखिएकाको त्यसै दिन पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुबाट बिहीबार बेलुकी सबैको परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घर पठाइएको उनले बताए ।

यसअघि आरडिटी प्रतिवेदन पोजेटिभ आएकामा १२ पुरुष र नौ महिला थिए । कोरोनाको आरडिटीमा पोजेटिभ देखिएपछि सो क्षेत्र सुनसान बनेको थियो । यसैगरी नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी गरी पोजेटिभ आएका दुई जनाको पिसिआर प्रतिवेदन पनि नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

आरडिटी पोजेटिभपछि शङ्खरापुर सिल
यसैगरी शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिएको छ । वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटीका क्रममा तिनमा पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र सिल गर्न लागिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए । इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी गरिएको थियो ।

आरडिटीमा पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टाइनमा राखिएको छ । पिसिआर परीक्षणको प्रतिवेदन नआएसम्मका लागि सबैलाई यहीँ राखिनेछ । क्वारेन्टनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।

आरडिटीमा पोजेटिभ देखिएकाको आज बिहान स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट काठमाडौँ उपत्यका बाहिरिने नाकासहित अन्य नगरपालिकासँग जोडिएका नाका पनि आज बिहान १० बजेदेखि सिल गरिने उनले बताए ।

अर्को सूचना जारी नभएसम्मका नगर क्षेत्र भित्रिने र बाहिरिने सबै नाका पूर्णरूपमा बन्द गरिनेछ । शङ्खरापुरबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको फटकशिला र भोटेचौर छिर्ने नाका छ । यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका हुँदै काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका जाने नाका पनि छ ।

Advertisement

Advertisement

Advertisement