मनीषाः 'राजसस्था चाहिन्छ' भनेर बोल्दा आलोचना, सीमाको प्रतिरक्षा गर्दा अपार प्रसंशा

Advertisement

काठमाडौं । नेपालमा राजसस्था र हिन्दु राष्ट्र फर्काउनुपर्छ भनेर बोल्दा विशेषगरी पार्टीका नेता र कार्यकर्ताबाट चर्को आलोचना खेपेकी मनीषा कोइरालाले अहिले सीमाको प्रतिरक्षा गर्दा तिनै नेता कार्यकर्ताबाट समेत निकै प्रसंशा पाएकी छन् ।

काँग्रेसका लोकप्रिय नेता वीपी कोइरालाकी नातिनी तथा बलिउड नायिका मनीषाले संविधान निर्माणका क्रममा नेपालमा राजसंस्था र हिन्दु राष्ट्र नेपालका लागि अपरिहार्य रहेको भन्दै नयाँ संविधानमा त्यसलाई समाधान गर्न आग्रह गरेकी थिइन् । त्यस क्रममा मनीषाको चर्को आलोचना गरिएको थियो । उनको पक्षमा उभिने आँटसमेत कसैले गरेको थिएन् । तर आज नेपालले जारी गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्साबारे उनले गरेको प्रतिक्रियासँगै भारतीय मिडियाहरु आक्रामण देखिएपछि मनीषाले आम नेपालीको सदभाव र प्रसंशा बटुल्न सफल भएकी छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नयाँ नक्सा जारीसम्वन्धी ट्वीटमा रिट्वीट गर्र्दै उनले सानो राष्ट्रको आत्मसम्मान कायम राखेकोमा धन्यवाद दिँदै तीन महान राष्ट्रहरु नेपाल, भारत र चीन मिलेर सीमा विवादको समाधान खोज्नु उपयुक्त हुने बताएकी थिएन् । उक्त रिट्वीटपछि भारतीय मिडियाहरु मनीषामाथि खनिएका थिए ।

राजावादी बनेको भन्दै नेपालमा मनीषालाई उपेक्षा गरिँदै आएको थियो । वीपी कोइरालाको विरासत बोकेकी उनलाई राजनीतिमा प्रवेश गर्न सुझाव दिइए पनि आफ्नो हजुरबाबुको राजनीतिक विचार (राजासहितको लोकतन्त्र)बाट काँग्रेस विमुख भएकोले राजनीतिमा प्रवेश गर्न आनाकानी गर्दै आएकी थिइन् ।

बलिउड स्टार भए पनि त्यहाँ थुप्रै विभेद र उपेक्षा खेप्दै आएकी मनीषा नेपालमा आफ्नो विचार अनुसारको राजनीतिक प्रणाली नभएको भन्दै आफू निकटकासँग असन्तुष्टि पोख्दै आएकी थिइन् । उनका बाबु प्रकाश कोइराला शाही कालमा विज्ञान तथा प्रविधि मन्त्रीसमेत बनेका थिए । कोइराला परिवारका अन्य सदस्यहरुले गणतन्त्रलाई स्वीकार गरे पनि प्रकाश, मनीषालगायत केही कोइरालाहरु अझै वीपी कै विचारधारा अनुसार संवैधानिक राजसंस्थाको पक्षमा वकालत गर्दै आएका छन् ।

तत्कालिन समयमा मनीषाले ‘नयाँ संविधानका लागि हाम्रो सुझाव’ शीर्षकमा नरेन्द्रराज प्रसाईसँग संयुक्तरुपमा फेसबुकमा भनेकी थिइन्, ‘नेपाल राष्ट्रको निर्माता तथा अढाई सय वर्षसम्म राष्ट्रको संरक्षक वा नेतृत्व तहमा रहेको राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण गर्दा राष्ट्रिय एकता खल्बलिनुका साथै नेपालको सार्वभौमसत्ता नै गुम्ने सम्भावना भएकाले राजसंस्थालाई उचित स्थान दिनु वाञ्छनीय छ ।’

त्यस्तै उनले नेपालमा हिन्दु धर्मको संरक्षण गरिनुपर्ने भन्दै नेपाललाई हिन्दू अधिराज्य नै कायम राख्न सुझाव दिएकी थिइन् । नेपालको राष्ट्रियता जोगाउन सर्वोच्च अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग जस्ता अङ्गका साथै नेपाली सेनालाई झनै शक्तिशाली बनाउनुपर्ने मनीषाको तर्क थियो ।

राजाको सक्रिय शासनमा गरिएको स्थानीय चुनावका क्रममा मोरङका केही गाउँमा पुगेकी मनीषाको विरोध गर्दै कालो झण्डा देखाएका थिए भने उनको पुत्लासमेत जलाएका थिए । यद्यपि सो चुनाव सफल पार्टीहरु सहयोगी नभएकाले सफल हुन सकेन् । सक्रिय राजतन्त्रलाई समर्थन गरिएको भन्दै मनीषा अभिनित चलचित्र बहिस्कारको अभियान समेत चलाइएको थियो ।

सोही बेलादेखि खासै चर्चामा नरहेकी उनी अहिले भने चर्चाको शिखरमा पुगेकी छन् । मनीषाको कटू आलोचना गर्दै आएकाहरुसमेत अहिले उनका फ्यान भएको सामाजिक सञ्जालमा देखिएको छ । क्यान्सरसमेत जितेकी मनीषा राजनीतिमा सक्रिय हुने उपयुक्त समयको पर्खाइमा रहेको उनी निकटहरुले बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement