कोरोना संक्रमित पाँच सय नाघ्यो, डडेलधुरा र बैतडीसमेत पुग्यो कोरोना

Advertisement

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ विवरणअनुसार कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।

शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टिसँगै कुल संख्या पाँचसय नाघेको हो । मन्त्रालयले शुक्रबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जना रहेको जानकारी दिए । डडेलधुरा र बैतडीमा कोरोना संक्रमित पहिलो पटक भेटिएको हो ।

संक्रमितमध्ये कैलालीका १९, २३ र २६ बर्षका पुरुषहरु हुन् । उनीहरु सबै सरस्वती मावि क्‍वारेन्टाइन जानकी गाउँपालिकामा रहेका थिए । डडेलधुराका २८ वर्षीय संक्रमित परशुराम गाउँपालिका–१० हुन् ।

त्यसैगरी बैतडीका २२ वर्षीय पुरुष शिवनाथ –१ बैतडीका हुन् भने बाँकेका संक्रमितको उमेर १८ देखि ६१ रहेको छ । १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । मोरङका संक्रमित रतुवामाई–२ मोरङका हुन् ।

आजै बिहान ३० जना नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै, आजै बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसरी निको हुनेको संख्या ७० पुगेको छ ।

Advertisement

Advertisement

Advertisement