कुमारी ट्रष्ट काठमाडौँले कर्णाली प्रदेशसहित १० अस्पताललाई दियो एक करोडको मेडिकल उपकरण

Advertisement

काठमाडौँ । कुमारी ट्रष्ट काठमाडौँले कर्णाली प्रदेश अस्पतालसहित यहाँका १० जिल्ला अस्पताललाई रु एक करोडको मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

ट्रष्टका अध्यक्ष तथा पूर्वसभासद् राजीवविक्रम शाहले आज प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्कालाई उक्त बजेट बराबरको मेडिकल उपकरण हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीका बेला शाहले गरेको सहयोग राज्यका लागि महत्वपूर्ण हुने बताए ।

“अप्ठ्यारो परेका बेलाको सहयोगले ठूलो महत्व र अर्थ राख्दछ”, मुख्यमन्त्री शाहीले भने, “अर्थपूर्ण सहयोग गर्नुभएका पूर्वसभासद् शाहलाई हार्दिक ज्ञापन गर्न चाहान्छु ।” कर्णालीका ८० हजार नागरिक अहिले पनि भारतमा भएका र २०–२५ हजार यतिबेला नै आउन थालेका जनाउँदै उहाँले भारतबाट आउन सक्ने कोरोना सङ्क्रमणको जोखिमबाट कर्णालीलाई बचाउन सबै एक भएर महामारीको सामना गर्ने अभियानमा जोडिन आग्रह गरे ।

शाहले लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका स्व प्रभाकर राणाकी छोरी माया राणाले पिताको वार्षिक पूण्य तिथिमा समाज सेवामा खर्चिने गरी ट्रष्टलाई आर्थिक सहयोग गरेको र त्यही स्रोतलाई कर्णालीका अस्पताल पूर्वाधारयुक्त बनाउने निर्णय बमोजिम सहयोग गरिएको जनाए ।

“कर्णालीको विकट भूगोल र यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई गम्भीरताका साथ हेरेर अहिले प्रदेश अस्पताललाई रु ७० लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरेका छौँ”, उनले भने, “यहाँका १० जिल्ला अस्पताललाई रु तीन÷तीन लाखका दरले रु ३० लाखगरी यो प्रदेशलाई कूल रु एक करोडको मेडिकल उपकरण हस्तान्तरण गरिएको छ ।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैँमा अब्बल भएकाले हाललाई केही सहयोग नभएको यद्यपि केही समयपछि एम्बुलेन्स सहयोग गर्ने उनको भनाइ थियो । अन्य प्रदेशभन्दा कर्णालीले बन्दाबन्दीलाई कडाइका साथ लिएर निकै ठूलो संवेदनशीलता अपनाएको कुराले आफूलाई गौरवान्वित बनाएको शाहले प्रतिक्रिया दिए ।

प्रदेश अस्पताल विकास समितिका सदस्य हरिमाया शर्माले प्रदेश अस्पतालमा भएको अभाव पूर्ति गर्न महत्वपूर्ण सहयोग पुगेको बताए । अस्पतालका निर्देशक डा खड्काले ट्रष्टले प्रदेश अस्पताल सुर्खेतलाई एक भेन्टिलेटरसहित पाँच आइसियु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगायतका आवश्यक मेडिकल उपकरण प्राप्त भएको जनाए ।

Advertisement

Advertisement

Advertisement