बुद्धिनारायण श्रेष्ठले लिम्पियाधुरासहितको चुच्चे नक्सा देखाउँदा नेताहरु हाँसेर उडाउँथे

Advertisement

काठमाडौं । भारतीय सीमा अतिक्रमणविरुद्ध जनता जगाउँदै उनी मेची–काली हिँडे, कालापानी के हो भन्ने नेता र कर्मचारीलाई प्रशिक्षित गर्न जुटे । नेपालको दाबी बलियो बनाउन नक्सा खोज्दै चीन, बेलायत र अमेरिका पुगे । अन्ततः महाकाली शिर लिम्पियाधुरा समेटेर नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि सीमाविद् बुद्धिनारायण श्रेष्ठको मनमा सीमाहीन खुसी छाएको छ ।

नापी विभागको महानिर्देशकबाट ०४९ मा निवृत्त भए पनि बुद्धिनारायण देशको सेवाबाट निवृत्त भएनन् । उनले नेपाल सरकारको नियुक्तिको आस गरेनन्, एनजिओ–आइएनजिओको ‘कन्सल्ट्यान्ट’ भएनन् । स्वयंसेवी अभियन्ता बनेर अतिक्रमित क्षेत्रको भ्रमण गरे । चीन, बेलायत र अमेरिकाबाट ऐतिहासिक नक्सा संकलन गरेपछि उनले लिम्पियाधुरा समेटिएको नक्सा कोरेर किताबमा प्रकाशित पनि गरेका थिए । बुद्धिनारायणले ‘चुच्चे नक्सा’ देखाउँदा कतिपय नेता हँसिमजाक गर्थे, तर अहिले त्यही नक्सा देशको आधिकारिक मानचित्र बनेको छ ।

नापी विभागको महानिर्देशक हुँदा नेपाल–भारत संयुक्त प्राविधिक सीमा समितिको १३औँ र १४औँ बैठकमा नेपालको नेतृत्व बुद्धिनारायणले गरेका थिए । आफूमातहतको कार्यसमूहमा कालापानीको नक्सामा विवाद भएको सम्झिन्छन् उनी । ‘कार्यसमूहमा नेपालले लिम्पियाधुराबाट बग्ने नदीलाई काली नदी मान्नुपर्ने तथ्य प्रमाण पेस गर्यो, भारतले लिपुलेकबाट आएको खोलालाई काली नदी भनेर नेपाली भूमिमा आफ्नो दाबी दोहोर्यायो,’ उनी भन्छन्, ‘नेपालले सन् १८२७ र १८५६ को नक्सा पेस गर्यो, जसमा काली नदी लिम्पियाधुराबाट निस्किएको देखिन्छ । तर, भारतले १८७९ को नक्सा देखाएर लिपुलेकसम्म आफ्नो दाबी प्रस्तुत गर्यो ।’

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement